"जीवित भए फिर्ता आऊ": बेपत्ता भएका रामचन्द्र खड्काकी श्रीमतीको क्रन्दन

सेप्टेम्बर १० देखि बेपत्ता रक्डेल, न्यु साउथ वेल्समा बसोबास गर्ने नेपाली पृष्ठभूमिका रामचन्द्र खड्कालाई सोही दिन अन्तिम पटक बोन्डाइ बीचको एक पसलमा देखिएको थियो।

Ram Chandra Khadka has been missing since September 10, 2018.

Source: Facebook

रामचन्द्र खड्का बेस्टिक स्ट्रीटमा अवस्थित आफ्नो घरबाट बेपत्ता भएको ५ महिना बितिसक्दा पनि उनको अवस्था अझै अनभिज्ञ रहेको छ । 

खड्काकी श्रीमती शोभा खड्काका अनुसार रामचन्द्रले क्याफेबाट निस्किए पछि ५ मिनेटको दुरीमा रहेको एक सेभेन इलेभेनबाट दुई रेड्बुल किनेको जानकारी प्रहरीले उनलाई दिएको थियो।

रामचन्द्रले सेभेन इलेभेनमा हाँस्दै बोलेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको पनि शोभाले आफ्नो जानकारीमा आएको जनाएकी छिन्।

मोबाइल लगायत अन्य सम्पूर्ण सामान घरमै छोडेर गएका रामचन्द्रले आफ्नो एक बैङ्क कार्ड भने बोकेको र दिउँसो ४:३० तिर घरबाट निस्किएर ७५ डलर ट्याक्सी भाडा तिरेको देखिएको शोभाले बताइन्।
Ramchandra Khadka has not been seen since September 10, 2018
Ram Chandra Khadka during happier times. Photo: Facebook Source: Facebook
प्रहरीले परिवारलाई दिएको जानकारी अनुसार उनलाई अन्तिम पटक बोन्डाइ बीच स्थित् एक स्थानीय मदिरा पसलमा गई दुई बोतल वाइन किनेका थिए।

तर उक्त पसलबाट बाहिरिएपछि केही खाली स्थान रहेको कारण उनलाई नजिकका अन्य कुनै क्यामेरामा नदेखिए पछि उनी त्यहाँबाट कता गए भन्ने पत्ता लाग्न नसकेको प्रहरीलाई उद्धृत गर्दै शोभाले बताइन।

सेन्ट जर्ज प्रहरीले समेत शोभाले दिएका सम्पूर्ण जानकारीहरू प्रहरीद्वारा नै उपलब्ध गराइएको र अनुसन्धान अझै पनि जारी नै रहेको जनाएको छ।

मृत्युबारे अनुसन्धान गर्दै सुनुवाइ र प्रमाण पेशी पश्चात् मृत्युको कारण र परिस्थितिबारे जानकारी दिने स्वतन्त्र निकाय कोरोनर्स कोर्टमा रामचन्द्रको विषय अगाडी बढाइने सम्भावना रहेको प्रहरीले एसबीएस नेपालीलाई जानकारी दिएको छ।

शोभाले कुराकानीका क्रममा कोरोनर्स कोर्टले उक्त मामिला लाई हेर्ने जानकारी आफूले पाएको भए पनि उनले यसबारे थप आफूलाई केही पनि जानकारी नभएको प्रस्ट पारिन्।
"म माथि के बितिरहेको छ त्यो त मलाई मात्र थाहा छ, र म त्यसलाई शब्दमा भन्न सक्दिन"
आफ्नो जीवनमा एक नयाँ सुरुवात हुने आशा लिएको दिन देखिनै शोभा खड्काका श्रीमानको अत्तोपत्तो छैन।

कसरी सम्झन्छिन् त्यो दिनलाई शोभा?

सेप्टेम्बर १०, सोमबारको त्यो दिन, उनीहरूको आफ्नै भोजनालय/क्याफे 'एभरेस्ट सेकुवा क्याफे एण्ड बार'को उद्घाटन गर्ने दिन थियो।
everest bbq cafe
Monday, September 10 was the opening day of the Everest Sekuwa Cafe and Bar. Source: sbs nepali
त्यो अत्यन्त व्यस्त दिन थियो र खड्का दम्पती सबेर देखि नै क्याफेको काम गर्न जुटेका थिए।

श्रीमानले दिउँसो १ बजेसम्म क्याफेको लागि आवश्यक सामाग्रीहरू किनमेल गरेको शोभाले बताइन्। शोभा क्याफेमा खाना बनाउन व्यस्त भएको समयमा रामचन्द्रले आफूलाई चक्कर लागेको जस्तो भएको बताएका थिए।

"बिहानदेखि काममा धमाधम हुँदा केही नखाएको भएर रिँगटा लागेको हो कि भन्नेभयो मलाई र मैले खान पनि पस्किएर दिए" शोभाले एसबीएस नेपालीलाई बताइन।

तर रामचन्द्रले घरमा गएर केही बेर सुतेर आराम गर्ने भन्दै पस्किएको खाना त्यसै छोडेर घर गए।

आराम गरेर फर्किने भनेका रामचन्द्र क्याफेमा त फर्किएर आएनन्। जब काम सकेर थकित शोभा राति ११ बजे घर पुगिन, आफ्ना श्रीमानलाई घरमा नदेखेर उनी हैरान भइन। 

प्रहरीबाट प्राप्त जानकारी

न्यु साउथ वेल्स प्रहरीले रामचन्द्र खड्का बेपत्ता भएको तीन दिन पछि एक सूचना प्रकाशित गर्दै उनको अवस्थाको बारेमा जानकारी भए सम्पर्क राख्न अपिल जारी गर्‍यो।

सेन्ट जर्ज प्रहरीलाई घटनाबारे अवगत गराए पछि रक्डेल र त्यस वरपरको क्षेत्रमा खोजी कार्य सञ्चालन गरियो।

प्रहरीद्वारा सार्वजनिक गरिएको सूचनामा प्रारम्भिक जानकारीबाहेक अन्य कुरा उल्लेख थिएन।

तीन महिनाको पर्खाइ पछि गत डिसेम्बर महिनामा, न्यु साउथ वेल्स प्रहरीले दोहोर्याएर पुन: उक्त अपिल जारी गरेको छ।

पारिवारिक सम्बन्ध

तीन छोराका बाबु रामचन्द्रलाई श्रीमती शोभा खुसी, मिलनसार, पारिवारिक र बुझ्ने व्यक्तिका रूपमा सम्झन्छिन्।

खड्का दम्पती आफ्ना दुई छोरा का साथ मा २००८ मा अस्ट्रेलिया आएका थिए, अहिले उनीहरू २६ र १८ वर्षका भएका छन् भने कान्छो छोरा हाल ६ बर्षका छन्।   

आफूहरूको सम्बन्धमा कुनै प्रकारको समस्या नरहेको शोभाले बताइन्। साथै, उनले उनको परिवारलाई हेरेर साथीभाइहरूले कस्तो राम्रो परिवार भन्ने गरेको पनि बताइन्।
आराम गर्न जान्छु भन्ने उनी लगभग १९ किलोमिटरको दुरीमा रहेको बोन्डाइ बिच पुग्नुले रामचन्द्रले नफर्कने योजना नै बनाएको हुन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ भन्ने प्रश्नमा शोभाले भनिन्,
"मलाई त्यस्तो योजना नै बनाएको होला जस्तो त लाग्दैन, कहिले पनि उहाँलाई त्यस्तो चिन्ता छ भन्ने पनि लागेन, भनेको भए पो थाहा हुन्छ।"
उनले कहिले पनि आफूलाई आर्थिक वा अन्य कुनै कुराले चिन्ता लागेको भनेर नबताएता पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा गाडी दुर्घटना भई आफू ड्रिंक एण्ड ड्राइभ मा परेको बारेमा उनी चिन्तित हुने गरेको शोभाले बताइन।

तर त्यस घटना पश्चात् भने रामचन्द्रले मदिरा पिउन निकै कम गरेको र कहिले काहीँ मात्र खाने गरेको बताइन।

उनले आफ्नो परिवारलाई घरको मूल मान्छे हराउँदा असह्य पिडा भएको बताउँदै त्यसमाथि पनि बुबा हराएपछि ६ वर्षीय कान्छो छोरालाई ज्वरो आइरहने र राति तर्सिने गरेको पिडा सुनाइन।

उनलाई के भयो वा कस्तो अवस्थामा छन् भन्ने बारेमा थाहा नहुँदा झन् धेरै पिडा भएको शोभाको भनाइ थियो।
"मलाई केही थाहा छैन कसरी खोज्ने अब मलाई मान्छे पत्ता लगाई दिए हुन्थ्यो, जीवित भए मान्छे आए हुन्थ्यो केही भएको भए पनि लास नै भए पनि पाए हुन्थ्यो।"
बेला बेलामा आँसु रोक्ने प्रयास गरेकी उनले निकै अप्ठ्यारो गरी यी शब्दहरू भनिन्।

परिवारको अपिल



शोभा खड्का का अनुसार श्रीमानको अवस्थाबारे पत्ता लगाउन आफूले सक्ने जति सबै गरिसकेकी छन्।

उनले एनआरएनए लगायत समुदायका संस्था र भनसुन गर्नु पर्ने सबै ठाउँमा सहयोगको लागी निवेदन गरेको र नेपाली दूतावासमा पनि धेरै पटक सम्पर्क गर्ने प्रयास गरेको बताइन्।
"दूतावासमा फोन गर्दा फोन पनि उठाउँदैनन्, छोराले इमेल पठाएको छु भनेको थियो तर त्यसको पनि उत्तर आएको छैन।"
आफूले खोजिका निमित्त गरेका प्रयासहरू सही ढङ्गबाट भएको छ कि छैन भन्ने बारे पनि आफूलाई खासै थाह नभएको भन्दै भाषाको समस्या पनि ठुलो भएको उनले बताइन।

क्याफेको काममा दिनभर व्यस्त हुने र सानो बच्चा पनि भएको कारणले पछिल्लो समयमा त यसतर्फ ध्यान दिने पनि समय नभएको भन्दै फेरी एक पटक भक्कानिएकी थिइन् शोभा।

कुनै ठोस कुरा थाहा हुन नसक्दा वाक्क दिक्क भैसकेको भन्दै उनले यदि कसैले रामचन्द्रका बारेमा उल्लिखित जानकारी बाहेक केही थाहा भए आफूलाई वा प्रहरीलाई खबर गर्न अनुरोध गरेकी छन्।


Share
Published 10 January 2019 2:58pm
Updated 18 February 2019 12:54pm
By Sunita Pokharel


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand