Analysis

आफ्नो पार्टनर भन्दा बढी कमाई गर्ने महिला घरेलु हिंसाको सिकार हुने सम्भावना धेरै

आफ्नो पुरुष जीवनसंगीभन्दा बढी कमाउने महिलाहरू माथि हिंसाका घटना करिब ३५ प्रतिशतसम्मले वृद्धि हुन सक्ने एक नयाँ अस्ट्रेलियाली अध्ययनले बताएको छ।

women office

Source: Anna Shvets/Pexels

अस्ट्रेलियाली तथ्याङ्क विभागले १० वर्षसम्म लगाएर गरेका पुराना सर्वेक्षणहरूमा आधारित रहेर उक्त अध्ययन दुईजना अध्यापकहरूद्बारा गरिएको हो।

अध्येता द्वय रोबर्ट ब्रेउनिग तथा यिनजुनजी झाङ भन्छन् कि पुरुषहरूले कम वा बढी आय आर्जन गर्दा उनीहरू माथि हुने घरेलु हिंसा वा भावनात्मक दुर्व्यवहारमा कुनै परिवर्तन देखिँदैन।

"जब लैङ्गिक नियमको उल्लङ्घन हुन्छ, तब मात्र हामीले शारीरिक हिंसा र भावनात्मक दुर्व्यवहारका घटना बढेको पाउँछौँ," रिपोर्टमा उनीहरू लेख्छन्।

यसै गरी, यदि घरमा पुरुषको सट्टा प्रमुख आय आर्जन गर्ने स्थानमा महिला छिन् भने ती महिलाहरू आफ्ना पार्टनरहरूबाट २० प्रतिशत थप रूपमा प्रताडित हुने गरेको पनि सो प्रतिवेदनले बताएको छ।

विशेष गरी, महिलाहरूले आफूहरूभन्दा बढी आय गर्दा उनीहरूको आर्थिक शक्ति बढेको देखिने र त्यसबाट "खतरा" उत्पन्न हुने भन्दै पुरुषहरूले घरमा आफ्नो वर्चस्व यथावत् राख्न दुर्व्यवहारपूर्ण प्रतिक्रियामा ओर्लने बताइएको छ।

साथै, रिपोर्ट भन्छ कि आफ्ना पुरुष साथीको तुलनामा धेरै कमाई गर्ने महिलाहरू जुनसुकै सांस्कृतिक पृष्ठभूमि, उमेर, शैक्षिक र आय स्तरका भएता पनि उनीहरू माथि हुने हिंसा बढेकै देखिन्छ।
domestic violence
Source: Getty Images
अस्ट्रेलियन नेश्नल युनिभर्सिटी अन्तर्गतको ट्याक्स एन्ड ट्रान्सफर पोलिसि इन्स्टिच्युटका निर्देशक रहेका प्रोफेसर ब्रेउनिग भन्छन् कि अध्ययन अगाडी बढ्दै जाँदा आफूहरू अचम्ममा पर्दै गए किनकि निस्केका नतिजाहरू एकदमै अनपेक्षित थिए।

एसबीएस न्युजसँग उनले भने, "नतिजा एकदम आश्चर्यजनक रह्यो, किनभने हामी यो सोच्दै थियौँ कि जब महिलाहरूको आर्थिक हैसियत उँभो लाग्छ, तब घरेलु जीवनमा उनीहरूको स्थिति पनि समानान्तर रूपले सुध्रिन्छ।"

"खासमा कुरा के रहेछ भन्दा, मानिसहरू घरमा पुरुषहरूले प्रमुख रूपमा आय आर्जन गर्ने कुरालाई सामान्य रूपमा लिन्छन् र जब यसमा तलमाथि हुन थाल्छ, तब त्यसले खलबल मच्चाउँछ। अनि त्यसैको एक रूप महिला विरुद्ध हिंसा भएर बाहिर आउँछ।"

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको एक तथ्याङ्क अनुसार अस्ट्रेलियामा बस्ने प्रत्येक ६ महिलामा १ जनाले आफ्नो हालका वा पहिलेका पुरुष जीवनसाथीको हातबाट कुनै न कुनै किसिमको शारीरिक वा यौनजन्य हिंसा अनुभव गरेका छन् जबकि पुरुषहरूको हकमा भने प्रत्येक १६ मध्ये १ जनाले आफ्ना महिला जीवनसाथीबाट यस्ता दुर्व्यवहारको सिकार हुने गरेका छन्।
उता, ब्याङ्कवेस्ट कर्टिन इकोनोमिक्स सेन्टर र वर्कप्लेस जेन्डर इक्वालिटी एजेन्सी भनिने कार्यस्थलमा लैङ्गिक समानता बारे हेर्ने एक निकायद्वारा गरिएको एक अर्को अध्ययनमा भने लैङ्गिक रूपमा समान आयका लागि थप २६ वर्ष सम्म लाग्न सकिने बताइएको थियो।

यसबारे प्रोफेसर ब्रेउनिग भन्छन् कि महिलाहरूको आर्थिक अवस्था सुधार हुँदैमा हामीले अन्य किसिमका समस्याहरू स्वतः समाप्त हुन्छन् भनेर सोच्न मिल्दैन।

"घरेलु हिंसासँग निप्टन हामीलाई छुट्टै नीतिको अझ आवश्यक छ...ताकि महिलाहरूले आफ्नो सम्बन्ध छोड्दा सचेत होउन् कि त्यस अवस्थामा उनीहरू कहाँ जान र कसको मद्दत माग्न सक्छन्।"
वूमन्स सेफ्टी एनएसडब्लु नामक न्यु साउथ वेल्स राज्यमा महिलाहरूको सुरक्षाका लागि कार्यरत एक संस्थाकी प्रमुख कार्यकारी हेली फोस्टरका अनुसार महिला विरुद्ध हुने हिंसाको सबैभन्दा ठुलो कारण भनेकै परम्परागत रूपमा लैङ्गिक भूमिका आधारित अपेक्षाहरू हुन्।

"यो रिसर्चले यस कुरालाई स्पषटताका साथ देखाएको छ," फोस्टरले एसबीएस न्युजलाई भनिन्।

यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्


Share
Published 31 March 2021 3:14pm


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand