बाह्रौँ जनगणना सुरु र प्रधानन्यायाधीशको विरोध झन् चर्कँदै : गत सात दिन नेपालमा

12th census in Nepal

Source: Tilak Raj Ojha/ RSS

बिहीबारदेखि नेपालमा बाह्रौँ जनगणना सुरु भएको छ। सर्वप्रथम राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको जानकारी लिएर जनगणना सुरु भएको हो। यी लगायत नेपालमा पछिल्ला सात दिनका प्रमुख समाचारहरू।


स्वास्थ्य

यस हप्ता नेपालमा कोरोना दैनिक सङ्क्रमित मानिसको सङ्ख्या ३०० को हाराहारीमा पुगेको छ भने दैनिक मृतकको सङ्ख्या १० भन्दा कम रहेको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७००० भन्दा बढी रहेको छ।

नेपालले संयुक्त राष्ट्रसङ्घ र विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार मात्रा अस्ट्राजेनेका खोप प्राप्त गरेको छ।

यसका साथै सरकारले फाइजर खोपको ६० लाख मात्रा खरिद गर्ने निर्णय गरेको छ।

यो भन्दा अगाडि सरकारले मोडर्ना खोपको ४० लाख मात्रा पनि खरिद गर्ने निर्णय गरिसकेको छ, र दुवै खोप चाँडै नै नेपाल पुग्ने अनुमान गरिएको छ।

तर भण्डारणको समस्या हुँदा ती खोपको प्रयोग हुन सक्ने हो कि होइन भन्ने प्रश्न देखिएको छ। काठमान्डुस्थित केन्द्रीय भण्डारण कक्ष नै टहरामा रहेको छ भने प्रदेशहरूमा पनि पक्की भवनको कमी हुँदा कतिपय खोप गाडी मै राख्नु पर्ने पनि अवस्था देखिएको छ।

यस्तै, नेपालमा हैजाको सङ्क्रमण सुरु हुँदा कपिलवस्तु जिल्लामा कम्तीमा ६ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले हैजा विरुद्धको खोपको २ लाख ५० हजार भन्दा बढी मात्रा नेपाललाई दिने भएको छ।

जनगणना सुरु

बिहीबारदेखि नेपालमा बाह्रौँ जनगणना सुरु भएको छ। सर्वप्रथम राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको जानकारी लिएर जनगणना सुरु भएको छ।

जनगणनामा पहिलो पटक विदेशमा रहेका नेपालीको पनि तथ्याङ्क लिइने भन्दै जनगणनामा सबैलाई सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन्।

"जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्दछ। तपाईँहरूले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।"

प्रत्येक दस वर्ष गरिने जनगणना पछिल्लो पटक सन् २०११ मा गरिएको थियो भने यस पटक कोरोना महामारीका कारण केही ढिलाइ भएको छ।
Census in Nepal
Source: Ranjeeta Adhikari/ RSS
सङ्घीय संरचनामा पहिलो पटक नेपालको जनगणना हुन लागेको हो। यस जनगणनामा ८ हजार सुपरिवेक्षक र ४० हजार गणकले काम गर्नेछन्।

एक गणकले एक दिनमा १२ परिवारको लगत लिएर नोभेम्बर २५ सम्ममा यो गणना सक्ने योजना गरिएको छ। पहिलो पटक काठमान्डु जिल्लामा ट्याब्लेटको प्रयोग गरेर गणना गरिनेछ भने अन्यत्र भने कागज नै प्रयोग गरिनेछ। 

प्रधान न्यायाधीश सङ्कट

सर्वोच्च अदालतमा प्रधान न्यायाधीश विरोधमा चलिरहेको आन्दोलन अझ चर्किएको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको मर्यादा विरुद्धको काम गरेको भन्दै बार एसोसिएसन र सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले उनको राजीनामा माग गरिरहेका छन्।

बिहीबार अदालतको परिसरमा रहेका आन्दोलनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरीसँगको झडपमा ६ जना वकिल घाइते भएका थिए। शुक्रवार प्रधानन्यायाधीशलाई अदालत छिर्न नदिने भन्दै बार एसोसिएसनले सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्ना दिएपछि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको थियो।

प्रधान न्यायाधीश जबरा भने अर्कै प्रवेशद्वारबाट अदालत छिरेपछि आन्दोलन अझ चर्किएको छ। जबराले अन्य न्यायाधीशका नाममा पेशी तोक्ने काम गरेका छन् जबकि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेक अरू मुद्दा हेरेका छैनन्।
प्रधान न्यायाधीशका यी कदमको विरोध गर्दै बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ भन्छन्,

"प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न न्यायाधीशको विश्वास जित्न सकेको छ, न बारको विश्वास जित्न सकेको छ। आफू मिडियामा गएर मेरो फैसला ठिक छ, मैले गरेको ठिक छ, मैले संवैधानिक परिषदमा गएर ल्याप्चे लगाउने होइन, म भाग लिन गएको हुँ भन्ने कुरा जुन गर्नुभएको छ, त्यसले न्यायपालिकालाई ठिक ठाउँमा राखेको छैन।"

बार एसोसिएसनले आइतबार पनि धर्ना दिने र प्रधान न्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका चार जना पूर्व उपकुलपतिले एक वक्तव्य जारी गर्दै अदालतको बेथितिलाई सरकारले सम्बोधन गर्न दबाब दिएका छन्।

आन्दोलनकारीहरूले पनि राजनीतिक दलहरूलाई कथित भ्रष्ट न्यायाधीशको निन्दा गर्न दबाब दिइरहेका छन्। तर प्रधानमन्त्री लगायत अन्य राजनीतिक दलले यस स्थितिको समाधान अदालत भित्रैबाट हुनुपर्ने बताइरहेका छन्।

अणुवंश परिमार्जित सामग्री

नेपालले आठ वर्ष अघि अणुवंश परिमार्जित सामग्री अर्थात् जिएमओ सम्भावित वस्तुमाथि लगाएको प्रतिबन्ध आंशिक रूपमा फुकाएको छ।

पशु आहाराका लागि मात्र उपयोग हुने सर्तमा सरकारले अणुवंश परिमार्जित गरिएका भटमास, मकै र क्यानोला आयात गर्ने अनुमति दिएको छ।

नेपालमा थुप्रै वर्षदेखि यस्ता सामग्रीको विरोध हुँदै आएको छ। अणुवंश परिमार्जित सामग्रीका बीउ एक पटक रोपेपछि अर्को पटकका लागि बीउ जोगाउन नमिल्ने भएकाले यसले कृषकहरूलाई बीउमा आत्मनिर्भर बन्न नदिने र रैथाने बीउ बिजनको विनाश गर्ने आरोप रहिआएको छ।

सरकारको पछिल्लो निर्णयको पनि केही विरोध भइरहेको छ, तर नेपालमा सुपरिवेक्षणको कमीले बजारमा भने यस्ता प्रतिबन्धित सामग्री पाइने देखिएको छ।

प्रदेश प्रमुख

chief of the state_oath_ nepal
Source: RSS


यस हप्ता तीन वटा प्रदेशका प्रमुख फेरिएका छन्। प्रदेश १ मा पर्शुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देशराज जोशी प्रदेश प्रमुख नियुक्त गरिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषद्को सिफारिसमा यस्तो कदम चालेको राष्ट्रपति कार्यालयले जनाएको छ।

छठ पर्व

यस हप्ता हर्षका साथ नेपालका मधेसी समुदायले छठ पर्व मनाएका छन्।

अस्ताउँदो सूर्यलाई जलाशयबाट अर्घ्य दिएर, रात भरी पूजा अर्चना गरेर र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।

परिवारको कल्याणका लागि यस दिनमा व्रत पनि बस्ने गरिन्छ।
Chhath celebration in Nepal
Source: RSS


यसै क्रममा जनकपुरमा भने केही समुदायबिच झडप हुँदा छठ पर्वमा अवरोध पुगेपछि शनिवार र आइतबार निषेधाज्ञा जारी गरिएको छ।

गत वर्ष कोरोना महामारीका कारण रौनक कम भएको पर्वमा यस वर्ष केही उल्लास देखिएको छ।

एसबीएस नेपालीका लागि काठमान्डुबाट सेवा भट्टराई

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand