नेकपाको सूर्य चुनाव चिन्हलाई लिएर विवाद र चिनियाँ दूतहरुको सक्रियता: गत ७ दिन नेपालमा

CPN Protest in Nepal

फुटेका नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका नेता ओली र प्रचण्ड-नेपालले पार्टीको नाम र चुनाव चिह्न सूर्य आफ्नो हुनुपर्ने दावी गरिरहेका छन्। Source: RSS

नेपालका प्रधानमंत्री के पी शर्मा ओलीले सूर्य चुनाव चिन्ह आफ्नो समूहको रहेको भनी दावी गरेपाछि नेपाल कम्युनिष्ट पार्टिका दुवै खेमाबीच तिव्र विवाद चर्केको छ र उखु किसानहरुले एक महिने लामो आन्दोलन फिर्ता लिएका छन्। यी लगायत गत ७ दिनका नेपालका प्रमुख समाचारहरु।


निर्वाचन अयोगमा झुट

प्रधानमन्त्री केपी ओलीको संसद विघटनको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेपछि दुई टुक्रा मध्ये कुन चाहिँ आधिकारिक हो भन्ने विवादमा प्रधानमन्त्री ओलीले झुट बोलेको बाहिरिएपछि सर्वर्त्र आलोचना भइरहेको छ।

फुटेका दुई समूहका नेता ओली र प्रचण्ड-नेपालले पार्टीको नाम र चुनाव चिह्न सूर्य आफ्नो हुनुपर्ने दावी गरिरहेका छन्। ओली समूहका एकजना नेता महेश बस्नेत भन्छन्,

"यो सूर्य चिह्न हाम्रो गोत्र हो, हाम्रो थर हो। हाम्रो भावना हो। हाम्रो रगत पसीनाले सिर्जेको चीज हो। यस मानेमा सूर्य चिह्न माथि आँखा नलगाऔं।"

दुवै समूहले आधिकारिकताको प्रमाण सहित निर्वचान आयोगमा निवेदन दिएको बताइएको छ। यसै बीचमा प्रधानमन्त्री ओलीले एउटा सार्वजनिक कार्यक्रममा आफ्नो पार्टी आधिकारिक भएकाले आफु निर्वाचन आयोगमा जाँदै नगएको, र रीत नपुगेको भन्दै निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता पठाएको दावी गरेका छन्।

निर्वाचन आयोगले भने अहिलेसम्म त्यस्तो कुनै निर्णय नगरेको बताएको छ। प्रधानमन्त्रीको त्यो अभिव्यक्तिको निकै विरोध भइरहेको छ भने निर्वाचन आयोगले यो विवाद सुल्झाउने काम सहित प्रधानमन्त्रीले घोषणा गरे अनुसार आगामी बैशाखमा निर्वाचनको तयारीमा पनि लागेको छ।

 

चिनियाँ दूतहरुको आगमन

नेपालको राजनीति र सत्तारुढ दल संकटमा भएको बेलामा चीनिया दूतहरुको आगमनले नेपाली राजनीतिमा छिमेकी देशको चासो बढेको देखिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली यस हप्ता नेपाल आएको थियो।

सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेताहरु प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई लगायतका राजनीतिक नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरेको छ।


चीनका विदेश मामिला सम्बन्धी प्रवक्ता वाङ वेनबिनले ती भेटघाटमा नेपाली पार्टीहरुबीचको अन्तरक्रिया, बीआरआई अन्तर्गतको सहयोग र आपसी चासोका विषयमा छलफल भएको बताएका छन्। तर, नेपालमा गहिरो राजनीतिक संकटका बेलामा यस्तो भ्रमण हुनुले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्न खोजेको डर बढिरहेको छ।

संसद विघटनको लगत्तै चीनिया राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेता र राष्ट्रपतिसँग समेत भेट गरेकी थिइन्, जसबाट नेकपा एकतामा चीनको चासो रहेको बुझिएको थियो। नेपालमा भारतको बढ्दो प्रभावको सामना गर्न चीनले पनि आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको कतिपय विज्ञहरुको भनाई छ। चीनले भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति रहेको बताएको छ।

 

कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २ लाख ६० हजार भन्दा बढी, र मृतकको संख्या १९०० को नजीक पुगेको छ। कोरोनाबाट नयाँ संक्रमित हुने मानिसको संख्या घट्दो देखिइरहँदा कोरोनाको परीक्षण फरक हुँदा नतीजामा फरक परिरहेको एउटा अध्ययनले देखाएको छ।

कोरोनाको परीक्षणका लागि नाक वा घाँटीबाट स्वाब निकाल्ने गरिन्छ। नाकबाट निकाल्दा केही गाह्रो हुने र गलत नतीजा पनि आउन सक्ने अध्ययनले देखाएपछि नेपालका पछिल्ला तथ्यांकहरुमा केही शंका उत्पन्न भएको छ।

 

प्रधानमन्त्रीको विरोध जारी

प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता संघीय संसदको प्रतिनिधिसभा विघटन गरेको विरोधमा यस हप्ता पनि प्रदर्शन जारी छन्। जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, र बृहत नागरिक आन्दोलनले सडकमा प्रदर्शन जारी राखेका छन्, र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहले पनि देशभर विरोध प्रदर्शन गरिरहेको छ।

यसै क्रममा प्रचण्ड-नेपाल समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले सबै नेताको फोन ट्यापिङ गरिरहेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको हिउँदै अधिवेशन शुरु हुने बित्तिकै सभा अध्यक्षले अदालतमा विचाराधीन यो मुद्दामा बहस गर्नु उचित नहुने बताएता पनि थुप्रै सभासदले त्यहाँ विरोध गरिरहेका छन्।
CPN Protest in Nepal
Source: RSS


जसपाकी सांसद प्रमिला कुमारी भन्छिन्,"यो सामान्य घटना नभई संविधान माथिकै कू हो। प्रधानमन्त्रीलाई वर्तमान संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्रीज्यूले प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्न सिफारिश गर्नु भएको हो।"

प्रधानमन्त्रीको कदमका विरुद्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका एक दर्जन भन्दा बढी रिट मुद्दाको सुनुवाई जारी छ, र सबै पक्षले व्यग्रताका साथ अदालतको फैसलाको प्रतीक्षा गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली भने आफैं सही भएको दावी गरिरहेका छन् र प्रचण्ड - नेपाल समूहप्रति सार्वजनिक रुपमा विभिन्न आरोप लगाइरहेका छन्।

उखु किसान आन्दोलन फिर्ता

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेपछि उखु किसानले आफ्नो आन्दोलन फिर्ता लिएका छन्।

सर्लाहीका उखु किसानहरु आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै विगत एक महिनादेखि काठमाण्डुको माईतीघरमा आन्दोलनरत थिए।

उखु किसानहरुलाई चिनी मिलहरुले ९ करोड रुपैँया भन्दा बढी पैसा भुक्तानी गर्न बाँकी भएको बताइएको थियो। गत वर्ष पनि उखु किसानहरुले यसै विषयमा आन्दोलन गरेका थिए र सरकारले समस्या सुल्झाउने बताएको थियो, तर समस्या फेरी दोहोरिएको छ।

चाडपर्वहरु

यस हप्ता बुधबार परेका तमु ल्होछार, उँधौली र यःमरी पुन्ही पर्वहरु मानिसहरुले घरघरमै मनाएका छन्। गुरुङ  समुदायले तमु ल्होछार, किराँत समुदायले उँधौली र नेवार समुदायले यःमरी पुन्ही मनाएका हुन्।

किराँत समुदाय भित्र पनि यो चाडलाई याक्खा समुदायले चासुवा, सुनुवार समुदायले फोलस्यादर, राई समुदायले उँधौली सकेला र लिम्बू समुदायले चासोक तङ्नाम भन्ने गरेका छन।
Nepal festivals
कोरोनाभाईरसका कारण नेपालका धेरै चाडहरु यसपल्ट घरभित्रै मनाईएको छ। Source: RSS
यःमरी पुन्हीमा नेवार समुदायले घरघरमै चामलको पिठोमा चाकु हालेको यःमरी खाएर मनाएका छन्। विगतका वर्षमा गुरुङ समुदाय र किराँत समुदायले सार्वजनिक रुपमा नाचहरु प्रदर्शन गर्दै, वा जमघटहरु आयोजना गरेर मनाउने गर्दथे।

यस वर्ष भने कोरोनाको महामारीलाई ध्यानमा राख्दै भीडभाड नगर्ने निर्णय गरेको र घरघरमै पितृपूजा र प्रकृति पूजा गरेको सम्बन्धित साँस्कृतिक सँस्थाहरुले बताएका छन्।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand