विद्युतीय पासपोर्ट दिन सुरु र प्रधानन्यायाधीश विवाद सुल्झिएन: गत सात दिन नेपालमा

Nepali_Passport

Source: The Rising Nepal

नेपालमा विद्युतीय राहदानी दिन सुरु गरिएको छ। यस राहदानीले एमआरपी अर्थात् मसिन रिडेबल पासपोर्टलाई विस्थापित गर्ने बताइएको छ। यी लगायत पछिल्ला सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस्।


कोरोना

नेपालमा यस हप्ता कोरोनाबाट नयाँ सङ्क्रमित हुने मानिसको सङ्ख्या प्रतिदिन ३०० को हाराहारीमा रहेको छ भने मृतकको सङ्ख्या १० भन्दा कम रहेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार भन्दा बढी रहेको छ। २५ प्रतिशत भन्दा बढीले खोपको पूर्ण मात्रा र झन्डै ३० प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन्।

न्यायपालिका सङ्कट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन बार एसोसिएसनले शुक्रवार सम्मको अल्टिमेटम दिएको थियो, तर राणाले राजीनामा दिएका छैनन्।

न्यायपालिकामा विचलन ल्याउने काम गरेको भन्दै बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशले केही हप्तादेखि प्रधानन्यायाधीशका विरुद्ध सर्वोच्च अदालतको परिसरमा आन्दोलन गरिरहेका छन्।


प्रधानन्यायाधिशले यस हप्ता एउटा विज्ञप्ति जारी गरेर विवाद सुल्झाउनका लागि संवाद गर्न आह्वान गरेका छन्, तर आन्दोलनकारिहरुले भने त्यसलाई अस्वीकार गरेका छन्।

बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ भन्छन्,

"न्यायपालिकाको बाधक चोलेन्द्र शमशेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ। त्यस कारणले गर्दा खेरी, प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ।"

आन्दोलनमा प्रहरीले बारम्बार हस्तक्षेप गरिरहेको छ। बिहीबार प्रहरीले वकिलहरूको माइक खोसेको छ भने यस हप्ता पनि प्रहरीसँगको झडपमा थुप्रै मानिस घाइते भएका छन्। प्रहरीको बल प्रयोगलाई वकिलहरूले मानव अधिकारको हनन भन्दै यसलाई गम्भीरतापूर्वक लिएर अन्तर्राष्ट्रियकरण गर्ने बार एसोसिएसनले बताएको छ।

यस्तै, न्यायपालिकालाई सुधार गर्नका लागि बार एसोसिएसनको माग मध्ये गोला प्रथाबाट न्यायाधीश तोक्ने पनि रहो थियो, जबकि हाल प्रधानन्यायाधीशले आफ्नो खुसीमा अन्य न्यायाधीशका लागि पेशी तोक्ने गरेका छन्।

शुक्रवार बसेको फुल कोर्टको बैठकले गोला प्रथा अपनाउने प्रक्रिया अघि बढाएको छ र प्रधानन्यायाधीश पनि यसमा राजी भएका छन्।

तर बार एसोसिएसनले भने आन्दोलनलाई शिथिल बनाउने किसिमले यो प्रस्ताव ल्याइएको हुनसक्ने भन्दै प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म गोला प्रथा स्वीकार गरेर पनि आन्दोलन नरोकिने बताएका छन्।
Nepal Bar Association_protest
Source: Nepal Bar Association
सर्वोच्च अदालतका १९ जना न्यायाधीशले गोला प्रथा सुरु नगरेसम्म मुद्दा नहेर्ने भन्दै अदालती कामकारबाही रोकेका थिए, तर आन्दोलनलाई कसरी अघि बढाउने भन्ने बारेमा मतभेद भएपछि यस हप्ता चार जना न्यायाधीश काममा फर्किएका छन्।

तर पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने मुद्दामा भने उनीहरूले अरू १३ जना न्यायाधीशलाई साथ दिइरहेको बताइएको छ। बारले आन्दोलनलाई अझ अघि बढाउँदै आइतबार देशै भरी बहस पैरवी नगर्ने भएको छ।

संवैधानिक निकायका पदाधिकारीहरूले एक वक्तव्य निकाल्दै यो अवस्था आउनु दुर्भाग्यपूर्ण भएको भन्दै सर्वसाधारणको न्यायमा पहुँच सुनिश्चित गरिनुपर्ने माग गरेका छन्।

मुस्ताङमा हिमपहिरो

आइतबार दिउँसो मुस्ताङ जिल्लाको मानापाथी हिमालमा हिम पहिरो जाँदा १२० भन्दा बढी याक र चौँरी हराएका छन् र केही खेत र अन्नबालीमा क्षति भएको छ।

हिम पहिरो जाँदा भाग दौडमा १० जना भन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा फेदी थासाङ गाउँपालिकाको जनआदर्श माविका शिक्षक र विद्यार्थी रहेका छन्। हिम पहिरो खसेको थुप्रै भिडियोले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेका छन्।

जिल्लामा झन्डै सात दशकपछि यति ठुलो हिम पहिरो गएको बताइएको छ। जलवायु परिवर्तनको असरका कारण नेपालमा यस्ता अस्वाभाविक घटना र प्राकृतिक विपदहरु बढ्दै गएको विज्ञहरू बताउँछन्।

जनगणनामा अप्ठ्यारो

नेपालमा अघि बढिरहेको बाह्रौँ जनगणनामा केही समस्याहरू देखिएका छन्।

मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रका मानिसहरू जाडो छल्न बेँसी झरेपछि कतिपय गाउँ रित्तिएका छन् भने मुगु जिल्लामा मानिसहरू जडीबुटी सङ्कलन गर्न गएपछि जनगणनाको तथ्याङ्क लिन कठिनाइ भएको छ। त्यस्तै, नेपाल र भारतले आफ्नो भनी दाबी गर्दै आएको दार्चुलाको कालापानीमा पनि जनगणना गर्न गाह्रो भएको छ।

भारतसँग सिमाना जोडिएको नेपालको सबैभन्दा पश्चिममा पर्ने दार्चुला जिल्लाको कालापानीमा रहेका छाङ्ररु र तिंकर गाउँहरू विवादित भूमिमा रहेका छन्। त्यहाँ पुग्ने बाटो दुर्गम भएकाले भारत हुँदै यात्रा गर्नुपर्ने हुन्छ, तर भारतले गणकहरूलाई त्यहाँ जाने अनुमति नदिएर जनगणनामा अवरोध खडा गरेको छ।

दार्चुला प्रशासनले भारतलाई पटक पटक पत्राचार गर्दा पनि भारतको जवाफ नआएपछि गणकहरू लामो दुरी तय गर्ने गरी नेपालकै बाटो त्यता लागेका छन्।

 

विद्युतीय पासपोर्ट

नेपालले विद्युतीय राहदानी दिन सुरु गरेर पहिलो विद्युतीय राहदानी १०२ वर्षीय सँस्कृतिविद सत्यमोहन जोशीलाई दिइएको छ।

बुधवार राहदानी विभागको एक कार्यक्रममा परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई राहदानी दिएका हुन्। यस्तो राहदानीले एमआरपी अर्थात् मसिन रिडेबल पासपोर्टलाई विस्थापित गर्ने बताइएको छ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल यसका बारेमा थप जानकारी दिँदै भन्छन्,

"यो विद्युतीय राहदानी संसारमा अहिलेसम्म चलेका राहदानी मध्ये सबैभन्दा पछाडिको हो। हामी यसलाई तेस्रो पुस्ताको राहदानी भन्छौँ। पहिलो पुस्ताको हस्तलिखित, दोस्रो पुस्ताको मसिन रिडेबल र यो तेस्रो पुस्ताको जसमा इलेक्ट्रोनिक चिप हुन्छ।"

इ पासपोर्टका लागि अनलाइन बुकिङ खुला गराइएको छ। सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई-पासपोर्ट प्रचलनमा ल्याइने बताइएको छ।

यस राहदानीमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छन्, जसले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने आशा सत्यमोहन जोशीले व्यक्त गरेका छन्।
nepali passport
Source: sbs nepali
मौसम 

यस हप्ता देशभर मौसममा बदली भएर चिसो बढ्नुका साथै प्रदुषण पनि बढेको छ। प्रत्येक वर्ष यो समयमा मानिसहरू आगो ताप्ने, फोहोर र खेत जलाउने लगायतका कारणले नेपालमा प्रदूषण बढ्ने गरेको छ, र यस वर्ष पनि कुहिरो लाग्नुका साथै बिहीबारदेखि घाम लागेको छैन।

भारतको दिल्लीमा भएको चर्को वायु प्रदूषणले पनि नेपालका केही क्षेत्रलाई असर गरिरहेको छ। यस्तो अवस्थामा विज्ञहरूले घरबाहिर कम निस्कन र मर्निङ्ग वाकमा नजान सुझाव दिइरहेका छन्।

एसबीएस नेपाली रेडियोका लागि काठमाण्डुबाट सेवा भट्टराई

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand