सगरमाथा बेस क्याम्प सार्न छलफल सुरू, सरकारी पक्ष भने तत्काल निर्णय नगर्ने पक्षमा

File photo: Base camp of Mt. Everest in Nepal. (Kyodo via AP Images)

File photo: Mt. Everest Base camp, Nepal. Source: AAP (Kyodo via AP Images)

जलवायु परिवर्तन र मानवीय गतिविधिका कारणले आधार शिविर रहेको स्थानमा हिउँ पग्लेर जोखिम बढ्न थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर सार्ने विषयमा छलफल सुरू भएको छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।


हाल सगरमाथाको आधार शिविर समुद्री सतह भन्दा ५,३६४  मिटर माथि रहेको छ।

वर्षेनी त्यहाँ सगरमाथा आरोहण गर्नका लागि दुई-तीन हजार मानिस केही महिनाका लागि बस्ने गर्छन्।

अप्रिल र मे महिनामा करिब एक किलोमिटरको दूरीमा फैलिएको क्षेत्रमा सयौँ पालहरू टाँगिने गर्दछन्।

तर अप्रिल महिनामा हिउँमाथि समतल देखिएको यो जमिन मे महिनासम्ममा हिउँ पग्लिएर कतै भिरालो र कतै चट्टानी देखिने स्थानीयवासी बताउँछन्।  


विगत केही वर्षमा नै सगरमाथा क्षेत्रको हिउँ पग्लिँदै गएर हिउँको सट्टामा पानी देखिन थालेको पर्वतारोहीहरू बताउँछन्।

जलवायु परिवर्तनका बारेमा सचेतना फैलाउने उद्देश्यले सगरमाथा आरोहण गरेकी पूर्णिमा श्रेष्ठले सन् २०१८ मा र सन् २०२२ मा गरेर दुई पटक सगरमाथाको आधार शिविर पुगेकी छिन्।

उनले त्यहाँ चार वर्षको अन्तरालमा देखेको जलवायु परिवर्तनको अनुभव यस्तो छ, "खुम्बु हिमनदीमा अब पानी पुग्छ। दोस्रो शिविरमा तालबाट जर्किनमा पानी ल्याइन्थ्यो, तर अहिले त्यहाँ हरेक पालमा खोला बगेको छ।" 


सगरमाथा आधार शिविरमा बस्ने दुई-तीन हजार मानिसहरूले दैनिक चार हजार लिटर पिसाब फेर्ने गर्ने बताइन्छ।

यो पिसाबले दुधकोशीको मुहानलाई प्रदूषित गर्ने मात्र नभएर हिमनदी पग्लिने क्रम पनि छिटो बनाइरहेको स्थानीयवासीको भनाई पनि छ।

त्यसो हुँदा रातारात जमिनमा चिरा परेर पालमा बसेका मानिसहरू जोखिममा पर्ने सम्भावना बढिरहेको देखिन्छ।

पर्यटन विभागले गठन गरेको सगरमाथा सहजीकरण तथा समन्वय समितिले यी तथ्यका आधारमा सगरमाथाको आधार शिविर सार्ने सल्लाह दिएको पर्यटन विभागले बताएको छ।  


हालको अवस्थामा सगरमाथा आधार शिविर सार्ने प्रस्तावको बारेमा अनौपचारिक छलफल मात्र गरिएको र औपचारिक निर्णय नलिइएको भट्टराईले बताएका छन्। 


प्रस्तावित स्थल हालको स्थानभन्दा केही सय मिटर तल रहेको छ।

हिउँ नहुने खुला ठाउँमा भएको घाँसे मैदानमा आधार शिविर राख्ने योजना रहेको छ, जहाँ पालहरू टाँग्नका लागि प्रशस्त ठाउँ छ।

त्यहाँ आधार शिविर सार्दा स्थानीय समुदाय र व्यवसायलाई खासै फरक नपर्ने तर सगरमाथा आधार शिविरमा सामान लैजान भने सजिलो पर्ने स्थानीयवासी बताउँछन्।  


आधार शिविर नयाँ ठाउँमा सार्दा हाल हिमनदीमा मिसिइरहेको फोहोर कसरी व्यवस्थापन गर्ने भनेर पनि योजना बनाउनुपर्ने शेर्पाको भनाई छ।

प्रस्तावित स्थलमा आधार शिविर सारिएमा आरोहीहरूले दोस्रो शिविर पुग्नका लागि थप एक-डेढ घण्टा भने हिँड्नुपर्ने हुनेछ। तर त्यसका लागि अझै केही समय बाँकी रहेको पर्यटन विभागले जनाएको छ। 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand