“खासमा त पुरुषले पनि महिनावारीको कुराहरू सुन्नुपर्ने हो”

Period ka kura

Shristi Kafle(Left) Priyanka Budhathoki (Right) from Nepali podcast "Period ka kura". Source: Period ka kura

प्रियङ्का बुढाथोकी र सृष्टि काफ्ले दुवै जनाले मिलेर केही समय अगाडि महिलाहरूलाई हुने महिनावारीले नेपाली समाजको सन्दर्भमा पर्ने असरको बारेमा एउटा पोडकास्ट बनाउने निर्णय गरे। यो श्रव्य कार्यक्रम सेवा सञ्चालन भएको एक वर्ष हुँदै गर्दा, उनीहरूको पोडकास्टले नेपाली महिलाहरूले भोग्न परेको अत्याचारको कथाहरू श्रोतासामु पुर्‍याउने काम पनि गरेको छ। यसै सन्दर्भमा हाम्रा काठमाण्डू संवाददाता गिरीश सुवेदीले बुढाथोकी र काफ्लेसँग गरेको कुराकानी।


तपाईँहरूलाई यसरी 'पिरियडका कुरा' को पोडकास्ट बनाउने सोच कसरी आएको थियो? सुरुवात कसरी गर्नुभयो?

प्रियङ्का : मैले एउटा रेडियोमा कार्यक्रम सञ्चालन गरेको करिब ६-७ वर्ष भएको थियो। त्यसपछि मैले एउटा पोडकास्ट सुरु गर्ने सोच बनाएकी थिएँ, तर समय नमिलिरहेको हुनाले यसो गर्न सम्भव भइरहेको थिएन। त्यसपछि सृष्टिसँग यसबारेमा मेरो कुराकानी हुन पुग्यो र हामी दुई जनाले यो कार्यक्रमको बारेमा सोच बनाएका थियौँ। यो लकडाउनकै बेलामा हामीले समयको सदुपयोग गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न पुग्यौँ। सुरुवात नै हामीले ‘पिरियडका कुरा गरौँ’ भनेर गरेका थियौँ। सृष्टि : हामी दुवै जना सञ्चार माध्यममै लागिपरेका व्यक्ती भएका हैसियतले पोहोर सारदेखि यस कामको निम्ति लागिपरेका हौँ। यस विषयमा हामी महिला नै भएर पनि आफ्नो अनुभवको बारेमा किन नबोल्ने त भनेर यस काम मा लागिपरेका छौँ।

प्रियङ्का बुढाथोकी र सृष्टि काफ्लेसँगको हाम्रो कुराकानी सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

श्रोताहरूबाट कस्तो प्रतिक्रिया आइरहेका छन्? यस कार्यक्रमले उनीहरूलाई कस्तो सहयोग गर्छ?

प्रियङ्का : प्रतिक्रियाहरू एकदमै राम्रो आइरहेको छ र हामीलाई पोडकास्ट सुरु हुन अघि र पछाडि दुवै समयमा समर्थन गर्ने श्रोताहरूले साथ दिइराख्नुभएको छ। यसरी हाम्रो कार्यक्रम सुनेर आफ्नो अनुभव बाँड्ने अन्य धेरैले पनि यसलाई मन पराइदिई राख्नुभएको छ। यसलाई सुनिसकेपछि वहाँहरूलाई पनि केही नौलो कुराहरू थाहा भएको सुन्दा निकै खुसी लाग्छ। यस कारणले हामीलाई हौसला पनि निकै भइरहेको छ। हामीले आफ्नो कुरा एक आपसमा बाँड्ने एउटा यो प्लेटफर्म बनायौँ तर अहिले आएर यो महिनावारीसँग सम्बन्धित महिलाहरूले आफ्नो आवाज उठाउने माध्यमको रूपमा परिचित भएको छ। यसमा हामीले महिनावारीको कुरीति र कुसंस्कारका जति पनि प्रयोगहरू छन्, त्यस विषयमा कुरा गर्छौँ र अझ विशेष गरी भन्नुपर्दा महिनावारी स्वास्थ्यको बारेमा कुरा गर्छौँ। हामीले वहाँहरूलाई दिएको सामान्य जानकारी, जसले वहाँहरूलाई सही तरिकाले आफ्नो शरीर लाई हेरचाह गर्न सिकाउँछ – त्यसको समेत हामीलाई राम्रो प्रतिक्रिया आइरहेको छ।
सृष्टि : अहिले अनलाइन माध्यमको कारणले गरेर धेरै ठाउँमा इन्टरनेट को सुविधा भएको छ। यसै गरी हामीले एफएम रेडियोहरूमा पनि आफ्नो कार्यक्रम बजाउन दिएका छौँ। आजसम्म हामीलाई देशभरिका विभिन्न ठाउँबाट प्रतिक्रियाहरू आइरहेका छन्। आफ्नो बारेमा कति कुराहरू भन्न पाउँदा उनीहरू पनि हलुका भएको अनुभव गर्छन् जस्तो लाग्छ र हाम्रो कार्यक्रमबाट कति जना पुरुषहरूले पनि महिलाप्रतिको यस्तो विषय सम्बन्धित आफ्नो दायित्वको बारेमा जानकारी पाई रहेका छन् जस्तो लाग्छ।

श्रोताहरू चाहिँ प्रमुख रूपमा को हुनुहुन्छ?

प्रियङ्का: धेरै जना किशोर-किशोरी समूहका रहेको पाइएको छ भने कतिपय १३ वर्षदेखि १८ वर्षसम्मकाले पनि सुनिराख्नु भएको देखिन्छ। त्यसको साथ-साथै ५० वर्षभन्दा कम उमेर समूहले पनि सुनिराख्नुभएको पाइएको छ। कहिलेकाहीँ कुनै शृङ्खला भने पुरुषहरूले बढी सुनिराख्नुभएको देखिन्छ। तर समग्रमा भन्ने हो भने महिला नै यसका बढी श्रोता भएको पाइएको छ। हाम्रो समाजमा ‘महिलाले सुन्ने कार्यक्रम’ भनेर छुट्टाउने प्रवृत्तिले गर्दा यस्तो भएको होला, तर खासमा त पुरुषले पनि महिनावारीको कुराहरू सुन्नुपर्ने हो। सृष्टी: प्रायजसो त युवा समूहका व्यक्तिहरू नै हुनुहुन्छ, र आफूहरू पनि पारिवारिक जीवनमा एक अर्कालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने अभिप्रायमा रहनुभएका व्यक्तिहरू यस कार्यक्रमका श्रोता हुनुहुन्छ। प्रायजसो युवाहरूले हामीलाई आफ्नो अनुभवको बारेमा खुलेर भन्ने र सामाजिक सञ्जालमा यी कुराहरू सेयर गर्ने पनि देखिन्छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand