आफ्नो समुदायको कथा सुनाउन साहित्यमा प्रवेश गरेकी मुना चौधरी

Author Muna Chaudhary spoke to SBS Nepali

Author Muna Chaudhary spoke to SBS Nepali Source: Sewa Bhattarai

नेपाली साहित्यमा नेपाली भाषा र संस्कृति बाहेकका अन्य भाषा र संस्कृतिको चित्रण कमै पाइन्छ भनेर बेलाबेलामा गुनासो भइरहँदा मुना चौधरी थारु समुदायको कथा सुनाउने उद्देश्यले साहित्यमा सक्रिय रहेकी छन्।


थारु समुदायका प्रसिद्ध पात्र जयवर्द्धन सलहेसका बारेमा मुना चौधरीले पहिलो उपन्यास लेखिन् र हालै मुसहर महिलाका बारेमा दोस्रो उपन्यास दुलारी सार्वजनिक गरेकी छिन्। 

थारु भाषाका संवादहरू पनि राखेर ती पुस्तकमार्फत नेपालको तराइमा बस्ने विभिन्न समुदायलाई साहित्यको मूलधारमा ल्याएकी छिन्।

उनीसँग भाषा, साहित्य, पहिचान र प्रतिनिधित्वका बारेमा गरेको कुराकानी :

तपाईँ थारु समुदायको महिला हुनुहुन्छ, जुन समुदायका साहित्यिक लेखक एकदम कम छन् नेपालमा। तपाईँमा साहित्यप्रति रुचि कसरी जागृत भयो?

मेरो समुदायका जुन कुराहरू छन् त्यो मैले विरलै मात्रामा पढ्न पाउँथे। त्यो समुदायको नेपाली भाषामा किताबै थिएन। मेरो समुदायका पनि धेरै व्यथाहरू छन्, गाथाहरू छन्, त्यो कसरी बाहिर ल्याउने? जस्तो कि कक्षा ८ मा मेरो प्यारो ओखलढुङ्गा  पढाई हुन्थ्यो। कविता पढ्दै गर्दा खेरी ओखलढुङ्गाको बारेमा छ, मेरो लाहानको बारेमा किन छैन? सिराहा जिल्लाको बारेमा किन छैन? भन्ने प्रश्न आउँथ्यो मेरो मनमा, विरोधी चेत आउँथ्यो। हामीले पशुपतिको बारेमा पढ्नुपर्छ, चितवनको बारेमा पढ्नुपर्छ। तर लाहान, सलहेश पुलबारीको बारेमा त कतै पढ्न पाउँदैनौँ। तर कसैले यो कुरा सोध्दैनथे। र साहित्य क्षेत्र नै पराइ हो कि जस्तो लाग्थ्यो मलाई। 

पछि गएर मैले थाहा पाए। जब कक्षा ११-१२ पढ्न थालें: "ओहो यो समुदायबाट त लेखक छैन रहेछन्। त्यसैले किताब नै छैन।" त्यसपछि मैले के निर्णय लिएँ भने म लेखक बन्छु अनि मेरो समाजका कुरा जसरी पनि बाहिर लान्छु, कथा र उपन्यासको माध्यमबाट। यही कुराले मलाई लेखक बन्न घच्घच्यायो।
Muna Chaudhri_Tharu literature_nepali literature
Author Muna Chaudhary spoke to SBS Nepali. Source: facebook/ Muna Chaudhary
तपाईँको प्रथम उपन्यासको पात्र जयवर्द्धन सलहेस – उनी पनि थारु समुदायका लागि निकै महत्त्वपूर्ण र चर्चित पात्र हुन्। तर नेपाली साहित्यमा उनको बारेमा खासै लेखिएको छैन। उनको कथाको बारेमा छोटो परिचय दिनुस् न। 

जयवर्द्धन सलहेश पाँचौँ शताब्दीमा मिथिला क्षेत्रका सेनापति थिए। तर अहिले सलहेश गुमनाम छन्, को थियो को थियो थाहा छैन।  सेनापति हुँदा उनले सुधारका धेरै काम गरेका थिए।

त्यतिखेर बोक्सी प्रथा थियो र समाजमा धेरै विकृतिहरू थिए। मान्छेले मान्छेसँग धेरै काटमार र झगडा गर्ने। अनि ती प्रथालाई हटाउने क्रममा सलहेश एउटा विभूति हुन्। त्यतिखेर झगडा छिनोफानो गर्ने मान्छे थिएन। सलहेशले नै गाउँ गाउँमा गएर जात अनुसारको मुखिया, प्रधानपञ्च घोषणा गरे। झगडा हुने बित्तिकै मुखियाले छिनोफानो गर्छ।

तपाईँले आफ्नो पहिलो उपन्यासको लागि यो पात्र किन रोज्नुभयो?

किनभने मलाई मेरो ठाउँलाई चिनाउनु थियो। त्यत्रो महापुरुष भएर पनि कुनै ठाउँमा नाम नआउँदा मेरो चित्त दुख्थ्यो। मेरो ठाउँमा पनि त यस्तो व्यक्ति छ। मेरो ठाउँमा पनि त यस्तो ठाउँ छ। 

तपाईँको दोस्रो उपन्यास दुलारीमा तपाईँले दलित महिला पात्र रोज्नुभएको छ। यो उपन्यास कसरी बन्यो?

मेरो घरबाट त्यस्तै १०-१५ मिनेट टाढा छ मुसहर टोल। हामी मुसहरको बच्चाहरूसँगै खेल्थ्यौँ। आर्थिक अवस्था एकदमै नराम्रो थियो उनीहरूको। उनीहरू एकदम पीडित थिए। खाना बस्न देखि लिएर शिक्षामा समेत वञ्चित। उनीहरूको पीडा, व्यथा देखेर मलाई उनीहरूको कथाले छोयो। त्यसैले मैले उनीहरूको बारेमा किताब लेख्ने जमर्को गरेँ।
Muna Chaudhari_nepali literature_Dulari
Source: facebook/ Muna Chaudhary
दलित महिलाको कस्तो सङ्घर्ष हुन्छ नेपाली समाजमा? तपाईँले के देख्नुभएको छ र त्यसलाई कसरी उतार्नुभएको छ उपन्यासमा?

दलित महिलाको खाने पिउने देखि लिएर बच्चा हुर्काउने, अनेक जिम्मेवारी हुन्छन्। श्रीमानको पनि सेवा गर्नै पर्ने। बच्चा बच्चीलाई पनि हेर्नै पर्ने। काम गरेर आफ्नो गुजारा चलाउँछन् र यतिसम्म गर्छन् कि उनीहरूलाई आफ्नो बच्चा स्याहार्ने पनि फुर्सत हुँदैन। दुलारी पनि दिनभरि बालुवामा खेलेर टाउकोमा घाउ नै घाउ निस्केको हुन्छ। तर आफ्नो हक अधिकारको बारेमा उनीहरूलाई केही थाहा हुँदैन। मैले के गर्नुपर्छ? कसरी अगाडि बढ्नुपर्छ? त्यो मैले देखेको छैन त्यो समाजमा। 

तपाईँले आफ्नो समाजका नलेखिएका कथाहरू नेपाली भाषामा लेखिराख्नुभएको छ। आफ्नो मातृभाषाको साहित्यको कस्तो अवस्था देख्नुभएको छ?

मातृभाषाको अवस्था त्यति राम्रो छैन। किनकि सहरमा बस्न थाले थारुहरू र उनीहरूले आफ्ना बच्चाहरूलाई आफ्नो भाषा सिकाउँदैनन्। नेपालीमा नै बोल्न सिकाउँछन्, र त्यसपछि अङ्ग्रेजी। आफ्नो भाषा कामै नलाग्ने भाषा हो भनेर । 

थारु भाषामा संवादहरू राख्यो भने थारु भाषालाई थोरै भए पनि उत्थान गर्न सकिन्छ कि भनेर मैले संवादमा त्यो भाषाको प्रयोग गर्छु।

यस्ता हराउँदै गएका भाषालाई जोगाउन र अझ उर्वर बनाउन के गर्नुपर्छ जस्तो लाग्छ? 

कुनै पनि भाषा किन धेरै विकसित हुन्छ? जुन भाषामा धेरै किताबहरू लेखिएका छन्, शब्द भण्डार छ, त्यो भाषा नै उर्वर भाषाको रूपमा चिनिन्छ। थारु भाषामा थोरै साहित्य भएको हुनाले यो भाषा पछि परेको छ। त्यसैले साहित्यलाई उर्वर बनाउनका लागि धेरै किताबहरू लेखिनु पर्छ थारु भाषामा। 

तपाईँ थारु समुदायको महिलाका लागि चाहिँ साहित्यमा आउनु र लेख्नु कत्तिको सङ्घर्षपूर्ण छ?

मलाई त सजिलो छ तर मेरो तुलनामा अरू महिलालाई गाह्रो हुन्छ। किनभने हामी महिलाले घर परिवार सब हेर्नुपर्छ। तर यदि महिलाको मनमा आत्मविश्वास छ, म यो काम जसरी पनि गर्छु भन्ने लाग्छ भने महिलालाई रोक्न सक्ने कुनै पनि शक्ति छैन संसारमा।  

महिलाले लेखेको पुस्तकमा तपाईँको लेखकीय दृष्टिकोण चाहिँ मूलधारमा भएका पुस्तकहरू भन्दा फरक हुन्छ कि हुँदैन?

फरक हुन्छ, अवश्य पनि। किनभने मलाई जुन अनुभव हुन्छ, जुन भावना छ, त्यो मैले सिधै व्यक्त गर्न सक्छु। मैले महिला पात्रका मनभित्रका धेरै कुरा, उसको मनोविज्ञान ओकल्न पाउँछु त्यो कथाभित्र। 

साहित्य लेखन र कलाको लागि मात्रै हो कि समाज रूपान्तरणका लागि हो? यसबाट केही परिवर्तनको अपेक्षा गर्नुभएको छ कि छैन?

अवश्य पनि परिवर्तनको अपेक्षा गरेको छु। यो समाज रूपान्तरणकै लागि हो। समयअनुसार हामीले चल्न सिक्नुपर्छ। त्यसपछि जति पनि पछौटेपन छ, अन्धविश्वास छ, र जसरी हामीले पुरुष समाजलाई झेल्दै आएका छौँ, त्यो समस्यालाई अब चाहिँ नझेल्ने। जस्तो कि हाम्रो समुदायमा महिला गुमनाम छन्, नामै हुँदैन। माइतीमा नाम हुन्छ, बिहे गरेर गइसकेपछि त्यो घरमा नामै छैन। लाहानको छोरी हो भने उसलाई लाहानवाली भनिन्छ। के त्यो पुरुषले न्याय गरेको हो? होइन, पक्कै होइन। 

त्यसैले, यो किताब मार्फत समाजमा परिवर्तन आओस्। परिवर्तनका लागि हामीले लेख्नुपर्छ। छोरीले नाम पाउँछन् भने बुहारीले पनि नाम पाउनुपर्छ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand