नेपाल एसीसी प्रिमियर कपको फाइनलमा र ओली माथि आक्रमण प्रयास: गत सात दिन नेपालमा

Cricket Association of Nepal - CAN.jpg

Source: Facebook / Cricket Association of Nepal - CAN/ SAJAN

नेपाली राष्ट्रिय क्रिकेट टिम एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको साथै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली माथि आक्रमण प्रयास भएकोबारे गृहमन्त्रीको जवाफ लगायतका पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

नेपाली राष्ट्रिय क्रिकेट टिम एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा शनिवार कुवेतबिच भएको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको आधारमा विजयी घोषणा भएको हो।

नेपालले फाइनल खेल युएईसँग सोमबार खेल्ने छ।

युएईले ओमानलाई २ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

वर्षाले प्रभावित खेल डीएलएस प्रणालीको आधारमा खेलाइएको थियो।
उपनिर्वाचनमा विजयी सांसदले लिए शपथ

गत आइतबार देशको तीन स्थानमा भएको उपनिर्वाचनमा विजयी भएका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई स्थानमा र जसपा एक स्थानमा विजयी भएको हो।

बारा, चितवन र तनहुँमा आइतबार उपनिर्वाचन भएको थियो।

जसमध्ये चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णिम वाग्ले निर्वाचित भए भने बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसदबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए।

न तनहुँ १ र बारा २ बाट निर्वाचित रामचन्द्र पौडेल र रामसहाय प्रसाद यादव राष्ट्रपति र उप-राष्ट्रपतिमा निर्वाचित भएपछि ती स्थानमा पनि उपनिर्वाचन भएको हो।

पार्टी खोलेको वर्ष दिन नपुग्दै रास्वपाले पाएको सफलताले नेपाली राजनीतिमा नयाँ आयाम थपेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

उपनिर्वाचनको नतिजासँगै नेपाली काँग्रेसको एक सिट कम भएको छ।

साथै लामिछानेको संसद्मा पुनरागमन र जसपाका अध्यक्ष यादव संसद्मा प्रवेश गरेसँगै सरकारको समीकरणमा पनि फेर बदल आउन सक्ने आङ्कलन विज्ञहरूले गरेका छन्।

राष्ट्रपतिको स्वास्थ्य सुधारोन्मुख, विदेशमा उपचार गराएको बारे टिप्पणी

छातीमा समस्या देखिएपछि उपचारका लागि भारत गएका राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको उनका परिवारका सदस्यले जनाएका छन्।

महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि भारत गएका हुन्।

सरकारी खर्चमा राष्ट्रपति उपचार गराउन गएको विषयमा सर्वसाधारणले टिका टिप्पणी गरेका छन्।

यस्तै टिप्पणी प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सदनमा गरे।

उनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपतिको उपचार यात्रा अस्वाभाविक र महँगो बनेको बताए।

राज्यका उच्च पदमा रहेका व्यक्ति विदेशमा उपचारका लागि गएको यो पहिलो पटक भने होइन।

यसअघि पनि पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्तिहरू विभिन्न देशमा गएर स्वास्थ्य उपचार गएका छन्।

यसरी विदेशमा उपचार गराउँदा राज्यको ढुकुटीबाट खर्च हुने गरेको भन्दै यसको विरोध यसअघि हुने गरेको छ।

अयोग्य लडाकुलाई पैसा हैन सिप, रोजगारी दिन माग

Maoist cadres at a training camp
Credit: Manarishi Dhital
सरकारले अयोग्य लडाकुलाई दुई लाख प्रति व्यक्तिका दरले दिने तयारी गरेको विवरणहरू आएसँगै उक्त निर्णयको चौतर्फी विरोध भएको छ।

सत्तापक्षकै सांसदहरूले पनि अयोग्य लडाकुलाई पैसाको साटो सिप रोजगारी दिनु उचित हुने बताएका छन्।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जालमा यस्तै प्रतिक्रिया दिएका छन्।

अर्का नेता प्रदीप पौडेलले अयोग्य लडाकुलाई पैसा दिने चर्चा सुनिएको तर उक्त विषय संसद्मा प्रवेश नगराई अगाडी बढ्न नहुने बताएका छन्।

प्रमुख प्रतिपक्षी दलले यस विषयमा विरोध गरेको छ।

प्रतिनिधिसभामा उक्त विषयबारे बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले सरकारले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ध्यान नदिएको तर राज्य कोषको दोहन गरेर कार्यकर्तालाई बाँड्न लागेको आरोप लगाए।

र भने, 'सत्य निरूपण तथा मेलमिलाप आयोगको काम थाती रहँदा सरकारलाई त्यसतर्फ चासो नभएको तर देशबाट पैसा निकालेर कार्यकर्ताहरूलाई लडाकुको नामा पैसा बाँडिन्छ।'

सरकारको यो निर्णय स्वीकार्य नहुने पनि उनले बताए।

ओलीमाथि आक्रमण भएको बारे गृहमन्त्रीले दिए संसद्मा जवाफ

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी नेपालको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा जाँदै गर्दा उनलाई प्रदेश नम्बर एकलाई 'कोशी' भनी नामकरण गरिएको विषयमा विरोध गरिरहेका पहिचानवादीहरूले आक्रमणको प्रयास गरे।

त्यस क्रममा सुरक्षाका लागि खटिएका केही प्रहरी घाइते भए।

उनलाई त्यस लगत्तै कडा सुरक्षाका साथ इलाम लगिएको थियो।

इलाममा उनले कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। त्यहाँ ओलीले उनीमाथि आक्रमणको प्रयास भएको बताए।

यस विषयमा सरकारको ध्यानाकर्षण गर्न नेकपा एमालेका नेताहरूले गृह मन्त्रालय गएर यस बारेमा जानकारी दिए। यस्तै, सदनमा उनीहरूले यस विषयमा गृहमन्त्रीसँग स्पष्टीकरण पनि मागे।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीहरूले आक्रमण गर्ने प्रयास गरेको र केही आन्दोलनकारीलाई पक्राउ गरिएको जानकारी दिए।

गृहमन्त्रीको भनाइबाट सहमत हुन नसेको एमालेका सांसदले भने र प्रधानमन्त्रीलाई नै संसद्मा उपस्थित हुन समेत अनुरोध गरे।

सगरमाथा आरोहणका लागि ४ सयभन्दा बढी अनुमति

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्।

यस साताको अन्त्यसम्म चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

उक्त विभाग अन्तर्गत पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार अब थोरै नेपाली र विदेशीलाई अनुमति दिने प्रक्रिया रहेको छ।

वसन्त ऋतुको लागि सगरमाथा आरोहणका तयारी सकिनै लागेको पनि उनले जानकारी दिए।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand