कोभिड-१९ को समयमा आफ्नै अनलाइन व्यवसाय सुरु गरेका अस्ट्रेलियाका नेपालीहरू

A representational image of a woman doing online business.

A representational image of a woman doing online business. Source: Getty Images/Oscar Wong

कोभिड-१९ लकडाउनको समयमा आम्दानीको स्रोतको विकल्प अनलाइन व्यवसाय बनेको केही नेपाली भाषी पृष्ठभूमिका व्यवसायीहरू बताउँछन्।नेपाली द्वारा प्राय नेपाली लक्षित नै व्यवसाय गरेका उनीहरूले यसलाई एक राम्रो अवसरका रूपमा पनि पाएका छन्।


पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको उपस्थिति बढेसँगै स्वतन्त्र रूपमा व्यवसाय सञ्चालन गर्ने मानिसहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।

सिड्नीको दक्षिणी क्षेत्र रकडेल, वा पश्चिममा पर्ने अबर्नमा, नेपाली पसल तथा रेस्टुरेन्ट आदि व्यवसायहरूको सङ्ख्या दर्जन भन्दा बढी पुगिसकेको छ। 

विभिन्न अस्थायी तथा स्थायी भिसामा रहेका नेपालीहरूको सङ्ख्या पनि बढेसँगै व्यापार व्यवसाय पनि उल्लेख्य रूपमा बढ्दै गएको हो।

रेस्टुरेन्ट, पसल देखि घरजग्गा र आइटीका क्षेत्रमा पनि नेपालीहरूको व्यावसायिक पहुँच देखिएको छ।

अनलाइन व्यवसाय

पछिल्लो समय होम-बेस्ड बिजनेस भनिने घरबाटै सेवा एवम् उत्पादनलाई अनलाइन माध्यमको प्रयोग गरी बिक्री वितरण गर्ने व्यवसायहरूमा पनि थुप्रै नेपालीको उपस्थिति देखिन्छ।

पसल–कवल वा कोठा भाडामा लिएर व्यवसाय गर्ने बाहेक अनलाइन प्रविधि मार्फत व्यवसाय गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको हो।

पछिल्लो दुई वर्ष कोभिड–१९ महामारीका कारण लकडाउन र अनेकौँ प्रतिबन्धहरूका बिच विकल्पहरू खोजी गर्दै अनलाइन व्यवसायमा हात हालेको केही नेपालीहरूले एसबीएस नेपालीलाई बताएका छन्।

सिड्नीका चूडामणि बेलबासे लेखा तथा कर सल्लाहकारका रूपमा कार्यरत छन्।

उनी भन्छन् कि धेरै मानिस सुरुमै पसल वा सटर नै भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने योजनामा हुँदैनन्।
अस्ट्रेलियाका नेपाली अनलाइन व्यवसायीका भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: कोभिड-१९ को समयमा आफ्नै अनलाइन व्यवसाय सुरु गरेका अस्ट्रेलियाका नेपालीहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
बेलबासेका अनुसार विभिन्न अनलाइन प्ल्याटफर्महरू मार्फत कसरी व्यवसाय सुरु गर्न सकिन्छ भनेर बुझ्न समुदायका थुप्रै सदस्यहरू उनीकहाँ आउने गरेका छन्।

“एउटा म:म नै बेच्ने कुरामा पनि अनलाइन प्लेटफार्म बनाएर अर्डर लिने, त्यसबाट डेलिभरी गर्ने अथवा नेपालबाट आउने सामान, अनलाइनबाट बेच्ने भन्ने ट्रेन्ड बढ्दै गएको छ,”  उनले भने।

अनलाइनमा व्यवसाय गर्दा, लागत कम हुने र बजारमा पनि सस्तोमा सेवा दिन सकिने भएकाले मानिसहरू यस प्रति आकर्षित बन्दै गएको बेलबासेले एसबीएस नेपालीलाई बताए।
मेरो बुझाइमा पनि अबको भविष्य यसैमा छ।
यसरी घरबाटै व्यवसाय सञ्चालन गर्ने मध्येकी मेलबर्नकी कृति महर्जन पनि एक हुन्। 

क्याटरिङ्ग सम्बन्धी व्यवसायमा उनी सक्रिय छिन्।

घरमै खाना पकाउने अनि अनलाइनबाट विभिन्न पार्टी एवम् कार्यक्रमहरूमा खानाको व्यवस्था गर्ने आफ्नो व्यवसाय  पछिल्लो समय निकै फस्टाएको उनी बताउँछिन्।

“लकडाउनका बेला साथीभाइलाई खाना खुवाउँदा राम्रो फिडब्याक आएपछि ... स्टार्ट गरेको हो,” डेन्टल नर्सको जागिरै छाडेर खानाकै व्यवसायमा सक्रिय भएकी महर्जन भन्छिन्।

आफूले राम्रै आम्दानी गरिरहेको कृतिको भनाई छ।
पछिल्लो समय क्याटरिङ्ग पनि गर्न थालेकाले, हामी सन्तुष्ट छौ, त्यति गार्‍हो भा’को छैन।
सिड्नीकी सरिता रानाभाटले भने अनलाइन र पसल दुवै मार्फत लत्ताकपडाको बिक्री वितरण गर्दै आइरहेकी छिन्।

तीन वर्ष अघि सुरु भएको उनको व्यवसाय कोभिड–१९ सुरु भएपछि भने अनलाइन मै सीमित भयो।

“कोरोनाभाइरसको समयमा अनलाइन मार्फत नै धेरै बिक्री भयो, फन्ङ्गसनल वेबसाइट नै सञ्चालन गरेकाले, त्यहाँ पनि बिक्री गर्न सजिलो भयो,” उनले एसबीएस नेपालीलाई बताइन्।

सिड्नीकै निकीता केसी पनि घरबाटै बुटीक सञ्चालन गर्छिन्। 

फेसबुक, इन्स्टाग्राम र टिकटक मार्फत ग्राहकहरूले आफूलाई सम्पर्क गर्ने गरेको बताउँदै उनी भन्छिन् कि यसबाट थप आम्दानीको स्रोत भेटिएको छ।

आर्थिक स्वतन्त्रता र परिवारलाई समय

व्यवसायमा हात हालेका महिलाहरू आर्थिक रूपमा त स्वतन्त्र त भएकै छन्,  घर परिवारका लागि मनग्यै समय दिन भ्याएको अनुभव सुनाउँछन्।

डेन्टल नर्सका रूपमा काम गर्दाको समय सम्झँदै कृति महर्जन भन्छिन् -
काममा जाँदा बिहान ६ बजे उठेर चाईल्ड केयरको ढोका कुरेर बस्नु पर्ने हुन्थ्यो, अहिले घरमा आफ्नै तालमा आफ्नै टाइममा काम गर्दा सजिलो भएको छ।
विशेष गरी घरमा बसेर परिवारलाई समय दिएर आफ्नै सुरमा काम गर्न पाउने भएकाले निकै सजिलो भएको उनको भनाई छ।

चार वर्ष स्ट्रकचरल इन्जिनियरिङ काम गरेकी सरिता रानाभाटका लागि पनि व्यवसायमा हात हाल्नु काम गर्नु भन्दा धेरै अर्थमा राम्रो लागेको छ।

आमाको जिम्मेवारी पनि निभाउनु परेकाले काम भन्दा आफ्नै व्यवसाय धेरै अर्थमा बेस भएको उनले बताइन्।

“पहिले घरको डिजाइन गर्थे अहिले कपडाको डिजाइन गर्ने गरेकी छु,” सरिता रानाभाट भन्छिन्।

कतिपयले चाहिँ  काम बाहेक पनि अतिरिक्त आम्दानीको श्रोतका रूपमा  सोसल मिडियाहरूको प्रयोग गरी विभिन्न खाले व्यवसाय गदै आइरहेका छन्।

सिलाइ–बुनाई र  बुटीक बाहेक, अर्डर आएको खण्डमा स–साना पार्टीहरूका लागि खानाको व्यवस्था पनि गरिदिने  निकीता केसी बताउँछिन्।

हाल भने उनी फुल टाइम जागिर र व्यवसाय दुबैलाई सँगसँगै लिएर गइरहेकी छन्।

घरमै सिलाइबुनाई र कपडाहरूको व्यापार गर्ने भएकाले उनलाई अतिरिक्त आम्दानी गर्न सहयोग पुगेको छ।

“मापदण्ड पुरा गरेर व्यवसाय गरौँ”

सिड्नीमा एक दशक भन्दा बढी समय एकाउन्टीङ्ग र आर्थिक विषयमा सल्लाह दिइरहेका चूडामणि बेलवासे भन्छन्, अनलाइन व्यवसाय गर्दा सरकारी मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्दछ।

विभिन्न खाले व्यवसाय गर्दा आफ्नै नियमहरू र त्यस सम्बन्धित पालना गर्नु पर्ने स्थानीय नियमहरू हुने भएकाले यसका बारेमा अद्यावधिक रहनु जरुरी हुने बेलबासेको भनाई छ।

“मानौँ, यदि खानाको व्यवसाय गदै हुनुहुन्छ त्यसका आफ्नै किसिमका कम्प्लाईन्स छन्, लोकल कम्प्लाईन्स अन्तर्गत म छु की छैन भने विचार गर्नुपर्छ,” उनले भने।

“खाना सम्बन्धी व्यवसाय गर्दा धेरै जना समस्यामा परेको मैले देखेको छु,” उनले भने।

यसका अलावा व्यवसायलाई विधिगत रूपमा दर्ता गर्ने, बिमा गर्ने र समयमा कर दाखिला गर्ने जस्ता कुरा  महत्त्वपूर्ण हुने बेलवासेको भनाई छ।
कप्लाइन्स, रजिस्टर्ड, बिमा र समयमा कर दाखिला गर्ने जस्ता कुरामा ध्यान दिनु पर्छ।
यदि दर्ता नगरी चलाउँदा के समस्या हुन्छ भन्ने एसबीएस नेपालीको प्रश्नमा चाहिँ बेलबासे भन्छन्, “लाइसेन्स नभई गाडी चलाउँदा जे परिणामहरू हुन सक्छ, त्यस्तै परिणामहरू यसमा पनि हुन्छ।”

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand