अस्ट्रेलियाली डिजिरिडू नेपाली लोकभाकामा गुञ्जाउने सलील सुवेदी

Didgeridoo player Salil Subedi spoke to SBS Nepali

Didgeridoo player Salil Subedi spoke to SBS Nepali Source: Renuka Khatiwada (supplied)

"मैले पश्चिमको दार्चुलादेखि पुर्वको ईलामसम्म डिजिरिडू लिएर हिँडेको छु। नेपालको हरेक गाउँमा, जति दुर्गम ठाउँमा जाँदा पनि, त्यो बाजालाई सबैले स्वागत गरे", भन्छन् सलील सुवेदी।


अस्ट्रेलियाका आदिवासी समुदायका पुरुषहरुले बजाउने एउटा बाजा केही वर्षदेखि नेपाली लोकभाकामा पनि गुञ्जिरहेको छ।

अस्ट्रलियाका आदिवासीले यिद्दाकी भन्ने तर अन्तर्राष्ट्रिय रूपमा डिजिरिडू नामले चिनिने यो बाजा ४ फिट भन्दा लामो हुन्छ र युकालिप्टस रूखको हाँगाबाट बनाइएको हुन्छ। नेपालमा संगीतकार सलील सुवेदीले केही वर्षदेखि यस बाजालाई लिएर विभिन्न प्रयोग गरिरहेका छन्।

नेपालमा यस्तो विदेशी बाजाको स्थान र महत्व बारे सेवा भट्टटराईले उनीसँग कुराकानी गरेकी छिन्।
सलील सुवेदीसंगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
डिजिरिडू कस्तो खालको बाजा हो? कसरी बजाइन्छ र कस्तो आवाज आउँछ?

यो बाजाको आवाज माहुरीको आवाज जस्तो हुन्छ, भुनुनु गर्छ। यो चाहिँ फुक्ने बाजामध्येको एउटै त्यस्तो बाजा हो जसलाई ओभरटोन शैलीमा बजाइन्छ। एउटा टोनभित्र विभिन्न टोनहरू मिसिएर आउँछन्।

यसको ईतिहास  पनि रमाइलो छ। अठारौं शताब्दीमा जब क्याप्टेन कुकले अस्ट्रेलिया कोलोनाइज गरे, ब्रिटिशहरूले आदिवासी मानिसहरूसँग "यो बाजाको नाम के हो?" भनेर सोध्दाखेरी उनीहरूले शायद भाषा नबुझेर हुन सक्छ, केही भन्न सकेनन्। तर ती नयाँ आगन्तुकहरूले त्यो बाजाको आवाज सुन्दाखेरी "यो त डिजिरिडू जस्तो बोल्दो रहेछ" भनेर त्यसको नाम डिजिरिडू हुन गयो।
Didgeridoo player Salil Subedi spoke to SBS Nepali about his music
Didgeridoo player Salil Subedi spoke to SBS Nepali about his music Source: Renuka Khatiwada (Supplied)
अस्ट्रेलियामा यो कुन समुदायले कस्तो अवसरमा कसरी बजाइउँछन्?

कसैलाई बिदाइ गर्दा, कसैलाई स्वागत गर्दा, वा आफ्नो पुर्खाहरूसँग संवाद गर्नका लागि यो बाजा बजाइन्छ। कसरी आफ्नो पर्यावरण र वरीपरीका ठाउँलाई जोगाउने भन्ने सन्देशहरू पुर्खाहरूले दिन्छन् भन्ने भनाइ अनुसार यो बाजा बजाएर नाच्ने र एकजनाले काठमा दुइ टुक्रा ट्याक ट्याक बजाएर टाइमिङ दिने गरिन्छ।

मैले बजाउने डिजेरडुमा रेन्बो स्नेक अर्थात इन्द्रेणी सर्पको आकृती कोरिएको छ। रेन्बो स्नेकले सबै धर्ती, जंगल, रूखपात, मानिसहरू श्रृजना गरेको हो भन्ने एउटा रमाइलो कथा छ। उनीहरूले त्यो रेन्बो स्नेकलाई पनि आफ्नो पुर्खा मान्ने गर्छन्। त्यस्तो पुर्खाहरू जगाउनका लागि यो बाजा बजाउने चलन छ।

तपाईंले डिजिरिडू पहिलोपटक कसरी देख्नुभयो? कसरी सुन्नुभयो?

मैले पहिलोपटक डिजेरिडु आजभन्दा झण्डै १६-१७ वर्ष अगाडि काठमाण्डुमा देखेको। म एउटा दैनिक पत्रिकामा काम गर्थें। र मैले एउटा असाइन्मेन्ट पाएँ – नेपालमा टुर गरिरहेको एउटा आधा आइरिश-आधा अस्ट्रेलियन ब्याण्डको बारेमा लेख्ने। म गएँ र त्यो बाजा बजाएको देखेँ। लेख लेख्ने क्रममा मैले ब्याकस्टेजमा गएर त्यो बाजा छुन पनि पाएँ, हेर्न पनि पाएँ।

यो बाजा बजाउन कसरी सिक्नुभो र नेपालमा कसरी बजाउन थाल्नुभो?

यो बाजा पहिलोपटक छुँदाखेरी तीन चारवटा कुराले मेरो मानसमा झक्झक्यायो। पहिलो त यसको आकार – कत्रो लामो बाजा रहेछ यो।

अनि सबैभन्दा मैले याद गरेको कुरा – भित्र खोक्रो थियो। केले खोक्रो पारेको भन्दा धमीराले खोक्रो पारेको भने। कुनै पनि बाजाबाट त्यसरी फुस्स कुहिएको काठ गन्हाएको गन्ध आएको मलाई थाहा छैन। संगीतकारहरूले आफ्नो बाजा त एकदम सुरक्षित राख्छन्, आगो पानीबाट जोगाएर। यो बाजा ठिक उल्टो थियो। यो बाजा कुहिँदै गरेको थियो। म चकित खाएँ। मलाई लाग्यो – यो त बाजा होइन एउटा जीवित प्राणी रहेछ।

केही समय पछि म काठमाण्डुको फ्रिक स्ट्रिटको एउटा सानो म्युजिक शपमा पुगें। ती साना साहुजीले डिजेरिडु निकाले र मैले पहिलोपटक बजाउँदा खेरी बज्यो। तर कसरी? न उसलाई थाहा थियो, न मलाई थाहा थियो। अनि ब्याग सहित ५०० रूपैयाँको डिजेरिडु मैले खरीद गरें।

तर डिजेरिडुको एउटा ठुलो रहस्य हुँदो रहेछ। कुनै पनि डिजिरिडू प्रोफेसनलले घण्टौंसम्म नरोकिइकन बजाउन सक्छन्। मान्छेलाई लाग्न सक्छ, सास फेर्नु पर्दैन? हो, सास फेर्ने पनि तरीका रहेछ। सर्कुलर ब्रिदिङ भनिने यो तरीका धेरै मानिसलाई सिक्ने चाहना हुन्छ, विशेषगरी ट्रम्पेट वादकलाई।

नेपालमा शहनाई वादकले र कोही कोही बाँसुरी वादकले पावन फेर्छन्। मुखबाट सास फालिरहँदा नाकबाट सास लिइरहने। यो तरीका सिक्न चाहिँ केही समय लाग्यो।
तपाईंले अस्ट्रेलियाका आदिवासीले बजाएको शैली सिक्नुभयो कि आफ्नै तरीकाबाट बजाउनुभयो?

म अहिलेसम्म अस्ट्रेलिया पुगेको छैन। मलाई स्वाभाविक रूपमा आएको शैलीमा बजाउन थालें मैले। जस्तै झ्याउरेमा बजाएँ। तबलामा फ्युजन गरें। त्यसरी नजानीकनै मैले आफ्नै मौलिक शैली श्रृजना गरेको रहेछु। बजाउँदै जाँदा डिजेरिडु आफैंले मलाई बाटो खुलाउँदै गयो।

डिजिरिडूलाई अहिले तपाईंले नेपालका लोक बाजाहरूसँग मिलाएर बजाउनुहुन्छ। विदेशी बाजालाई यहाँ ल्याएर सम्मिलित गर्दा त्यसलाई लोक बाजा वा लोक संगीत भन्न सकिन्छ? वा फ्युजन भन्नुपर्छ कि के भन्नुपर्छ?

बाजाहरू भनेको विदेशी हुँदैनन् भन्ने मेरो मान्यता छ। सबैभन्दा ठुलो नमुना हो गितार जुन अहिले मानव सभ्यताकै सबभन्दा महत्वपुर्ण बाजा बनेको छ। डिजेरिडु पनि त्यस्तै बाजा हो, प्रतिनिधि बाजा हो। मानिसको ढुंगेयुग ताका देखि नै आएको हो भन्ने भनाइ छ। त्यो एउटा मानव सभ्यताको पहिचान हो।

दोस्रो कुरा चाहिँ, आफ्नो ठाउँमा ल्याएर बजाइसक्दा चाहिँ के हुँदो रहेछ भने, आगन्तुक बाजालाई पनि जब लोकभाकामा बजाइन्छ, त्यसले हाम्रो यही ठाउँको पहिचानको पनि प्रतिनिधित्व गर्न सक्छ।

र तेस्रो कुरा के छ भने मेरो अनुभवमा, मैले पश्चिमको दार्चुलादेखि  पुर्वको ईलामसम्म त्यो डिजिरिडू लिएर हिँडेको छु। नेपालको हरेक गाउँमा, जति दुर्गम ठाउँमा जाँदा पनि, त्यो बाजालाई स्वागत गरे सबैले।

एउटा चाहिँ के रहेछ भने नौलो भयो। दोस्रो कुरा चाहिँ, "यो त पावन फेरेर बजाउने बाजा रहेछ। हाम्रो बाजामा पनि यस्तो गरिन्छ नि" भनेर कति आफुले बिर्सिएका बाजा पनि मानिसहरूले सम्झना गरे।

अन्तिममा, तपाईंले जस्तो आदिवासी बाजाहरू बजाउनुहुन्छ, यस्तो बाजाहरू र आदिवासी संगीतको अवस्था अहिले कस्तो देख्नुहुन्छ?

एकातिर संकटमा छ भने अर्कोतिर एकदम राम्रोसँग संरक्षण भएर विश्वमा ख्यती पनि पाइरहेका छन्। दुःखलाग्दो कुरा के छ भने इलेक्ट्रोनिक संगीतको दुनियामा गइसकेपछि चाहिँ कमर्सियलाइज हुने रहेछ। उसको मौलिकता, जस्तै उ कुन संस्कृतिबाट आएको हो, समुदायमा त्यसको कस्तो किसिमको महत्व छ? भन्ने कुराहरू चाहिँ अलिकति हराउने सम्भावना हुँदो रहेछ।

डिजिरिडूको दुइटा पाटो छ। एउटा रीतिरिवाजसँग सम्बन्धित, एउटा संगीतसँग सम्बन्धित। कुनै पनि संगितकर्मीले जुनै पनि बाजा लिएर संगीत रचना गर्न सक्छन्। तर रीतिरिवाजकै रूपमा नाच्दै बजाउने हो भने त्यो नाटक हुन जान्छ। यो चीजमा चाहिँ संगीकारहरू सतर्क रहनु पर्छ।

रीतिरिवाज चाहिँ जो मानिसको बाजा हो, वहाँहरूलाई नै गर्न दिनु पर्छ। हामीले चाहिँ वहाँहरूबाट प्रेरित भएर नयाँ मौलिक संगीत रचना गर्नुपर्छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand