"कतिपयले पत्रकारिता भन्दा पनि बढी रेडियो जकी जसरी कार्यक्रम बनाउँछन्": साप्ताहिक नेपाल सन्दर्भ

nepali radio

Source: Nepali Times/ Kunda Dixit

दक्षिण एसिया कै सबैभन्दा पहिलो सामुदायिक रेडियोको स्थापना भएको नेपालमा अहिले सम्म आइपुग्दा ७०० भन्दा बढी सामुदायिक रेडियोहरू सञ्चालनमा रहेका छन्। नेपालको रेडियो क्षेत्रको विकास क्रमका साथै पछिल्लो सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा :
 
  • नेपालमा कोरोनाको सङ्क्रमण दर प्रतिदिन एक हजार भन्दा कम भइसकेको छ, र सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजारको हाराहारीमा छ। गत हप्ता प्रतिदिन १७ सय भन्दा बढी मानिस सङ्क्रमित भइरहेका थिए र सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार थियो। 
  • संयुक्त राज्य अमेरिकाका एक जना मन्त्रीले नेपालका विभिन्न नेतालाई फोन गरेर नेपालले एमसीसी पारित नगरे अमेरिकाले नेपाल सम्बन्धी आफ्नो नीति परिवर्तन गर्ने चेतावनी दिएका छन्। अमेरिकाले दिन लागेको हालसम्मकै सबभन्दा ठुलो आर्थिक सहयोगको कार्यक्रम एमसीसी नेपालको संसद्मा लामो समयदेखि विचाराधीन छ। हालै एमसीसी कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवालाई २८ फेब्रुअरी सम्म एमसीसीबारे निर्णय गरिसक्न भनेर पत्र लेखेको छ। 
  • वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी श्वास प्रश्वासको समस्याका कारण बिरामी भएर केही दिन अस्पतालमा बसेका छन्। हालसम्म प्राज्ञिक क्षेत्रमा सक्रिय रहिआएका १०२ वर्षीय जोशीको स्वास्थ्यमा सुधार भएको बताइएको छ।
  • र, आज विश्व रेडियो दिवस। 

 


नेपालमा रेडियोको प्रचलन भएको पनि ७० वर्ष भन्दा बढी भइसकेको छ। हुन त नेपालमा केही मानिससँग सन् १९२० को दशकदेखि नै रेडियो सेटहरू थिए, जसमा भारत लगायतका ठाउँबाट प्रसारण भएका रेडियो सुन्न सकिन्थ्यो।
 
तर नेपालको पहिलो रेडियो सन् १९५० मा विराटनगर वाट सञ्चालन भएको प्रजातन्त्र रेडियोलाई मानिन्छ। नेपाली काँग्रेसले गरिरहेको प्रजातन्त्रको आन्दोलन अन्तर्गतको त्यो रेडियोमा प्रजातन्त्र सम्बन्धी गीत र सन्देश बज्थे। 
 
सन् १९५० मा नेपालमा प्रजातन्त्र आइसकेपछि त्यही प्रजातन्त्र रेडियो नै रेडियो नेपाल बनेको थियो। रेडियो नेपालले विभिन्न भाषामा समाचारका साथै गीतहरू प्रसारण गर्ने गर्थ्यो।
 
सन् १९९० मा नेपालमा बहुदल व्यवस्था आएपछि विभिन्न नयाँ नीति नियमहरू बन्न थाले, जस अन्तर्गत समुदाय स्तरमा गैर सरकारी रेडियो सञ्चालन गर्न पाउने व्यवस्था पनि थिए।
 
सन् १९९० को दशकमा नेपालमा दर्जनौँ एफएम स्टेसनहरू सञ्चालनमा आउन थाले भने सन् १९९७ मा दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, 'रेडियो सगरमाथा' सुरु भएको थियो।
 
हाल नेपालमा ७०० भन्दा बढी सामुदायिक रेडियो छन्, जसले देशभरमा क्षेत्रीय समाचार दिनुका साथै समुदायका आवाज पनि प्रसारण गरिरहेका छन्।
 
यो विश्वमै एउटा नमुना अभ्यास बनेको छ। रेडियो सगरमाथाका पहिलो प्रस्तोता घम राज लुइँटेललाई मैले रेडियो सगरमाथा कसरी स्थापना भएको थियो भनेर सोधेकी थिएँ। 
Ghama Raj Luitel
Source: Ghama Raj Luitel/ facebook
"नेपाल प्रजातान्त्रिक मुलुकका रूपमा अघि बढेसँगै नेपालमा पनि समुदाय स्तरका आवाज प्रतिध्वनित हुने गरी गैर सरकारी रूपमा रेडियो सञ्चालन गर्न सकिन्छ भन्ने लाग्यो। त्यसले समुदायको विकासमा सघाउँछ भन्ने हामीलाई लाग्यो र हामीले त्यो अभ्यास गर्‍यौँ," लुईँटेल भन्छन्।
लुईँटेल सँगको पुरा कुराकानी सुन्नुहोस् "कतिपयले पत्रकारिता भन्दा पनि बढी रेडियो जकी जसरी कार्यक्रम बनाउँछन्": साप्ताहिक नेपाल सन्दर्भ
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"त्यो समयमा नेपालमा रेडियो नेपाल मात्र थियो। त्यसले माथिबाट तल मात्र सूचना प्रवाह गर्थ्यो भने तलबाट माथि सूचना प्रवाह गर्दैनथ्यो। रेडियो सगरमाथाले सामुदायिक समाचारहरू दिने प्रचलनको सुरुवात गरेको थियो।"
 
दक्षिण एसियाकै पहिलो यो रेडियो स्थापित भएपछि नेपालमा सयौँ सामुदायिक रेडियो खुल्ने बाटो बन्यो। नेपालको यो अभ्यास पुरस्कृत पनि भएको र यसले भारत र बांग्लादेशको रेडियो क्षेत्रलाई पनि प्रभावित गरेको लुईँटेल बताउँछन्।
 
तर त्यति हुँदाहुँदै पनि नेपालको सामुदायिक रेडियोको क्षेत्रमा केही सुधार गर्नु पर्ने उनी देख्छन्। "कतिपय रेडियोले राम्रो गरिरहेका छन् भने कतिपयले पत्रकारिता भन्दा पनि बढी रेडियो जकी जसरी कार्यक्रम बनाउँछन्।"
 
"रेडियो पत्रकारिताका आयाममा वृद्धि हुनुपर्‍यो, जसका लागि रेडियोकर्मीलाई तालीम र क्षमता अभिवृद्धि करण चाहिन्छ। रेडियोमा पत्रकार र सम्पादक हुनुपर्छ, रिपोर्टिङ गर्नुपर्छ। र सामुदायिक रेडियोहरू अझै स्तरीकृत र विशिष्टीकृत हुँदै जानुपर्छ।"
 

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand