गत सात दिन नेपालमा: चैत्र तीनमा उपराष्ट्रपतिको निर्वाचन, प्रचण्ड विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

Pushpa Kamal Dahal (Prachanda)

Current Nepali Prime Minister Pushpa Kamal Dahal (Prachanda) Source: EPA / NARENDRA SHRESTHA/EPA

सर्वोच्च अदालतले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाउँ भनी दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।


प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाउँ भनी दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा पहिले पनि व्याख्या भएको भन्दै सर्वोच्च अदालतले पूर्ण सुनुवाइपछि मात्र कानुनी प्रश्नहरूको निरूपण हुने आदेश दिएको हो।

यसका साथै यस मुद्दालाई छिटोछरितो न्याय नीरुपण गर्न आदेश दिएको छ र १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ।

प्रचण्डले २०७६ साल माघ १ गते खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको आफूले जिम्मा लिने बताएका थिए।

उनको उक्त अभिव्यक्तिको आधारमा अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले प्रचण्डले सार्वजनिक रूपमा पाँच हजार मानिस मारेको जिम्मा लिने कबुल गरेकोले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै गत साता रिट निवेदन दायर गरेका थिए। सुरुमा उक्त रिट दर्ता गर्न अदालतले अस्वीकार गरेको थियो।
अदालतको आदेशसँगै अब प्रचण्डले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षका रूपमा दुई छुट्टाछुट्टै लिखित जवाफ पेस गर्नुपर्ने अधिकारीहरूले बताएका छन्।

अदालतमा उक्त रिट दायर भएसँगै यसले माओवादी घटकमा तरङ्ग ल्याएको छ। जनयुद्धका घटना सक्रमणकालीन न्यायका मुद्दा सर्वोच्चले दर्ता गर्न नहुने लगायतका विषयहरू उठाएका छन्। यस विषयमा छलफल गर्न माओवादी घटको पटक पटक बैठक पनि बसिसकेको छ।

प्रचण्डले प्रतिक्रियावादीहरूले अहिले पनि माओवादी विरुद्ध घेराबन्दी गर्दै छन् भन्ने प्रतिक्रिया दिएका छन्। यस्तै माओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले तीन वर्षअघि सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिलाई आधार बनाएर बहालवाला प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मुद्दा हालेर जिस्काउन खोजिएको बताएका छन्।

यस्तै शुक्रवार बिहान बसेको माओवादी धारका नेताहरूको बैठकले आइतबार एक संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिक रूपमा खण्डन गर्ने निर्णय गरेको छ।

उक्त बैठकको निर्णय सञ्चार कर्मीहरूसँग माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, "शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते शान्ति प्रक्रियामा सरोकार राख्ने नागरिक समाजसँग अन्तरक्रिया गर्ने निर्णय बैठकले गरेको छ।"
यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी प्रधानमन्त्री भएका बेला सङ्क्रमणकालीन न्याय, शान्ति प्रकियालाई टुङ्गोमा लैजाने विषयमा पटक पटक आग्रह गरेको बताएका छन्। तर माओवादी केन्द्र र नेपाली काँग्रेस दुवैले यस विषयलाई गम्भीरता पूर्वक नलिएको उनले बताए।

"यस विषयलाई टुङ्गोमा लैजाऊँ, लम्बियो भने पछि जटिल समस्या सिर्जना गर्छ भन्दा मेरो कुरालाई ध्यान दिनुभएन," उनले भने। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने काम बाँकी रहेको बताएका थिए।

सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभा दर्ता गर्ने निर्णय गरेको छ।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

उपराष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धनबाट तीन सहित चार जनाले उम्मेदवारी दिएका छन्। शनिबार दिउँसो संसद भवन बानेश्वरमा नेकपा एमालेले उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवारको बनायो।

यस्तै सत्ता घटकबाट जनता समाजवादी दलबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाले उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धनका दलहरूबिच उपराष्ट्रपतिमा सहमति हुन नसकेपछि तीन जनाले उक्त पदका लागि उम्मेदवारी आएको प्रधानमन्त्री निकट नेताहरूले बताएका छन्।

नेपाली काँग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादव र राष्ट्रिय सभाकी सदस्य प्रमिला कुमारी यादवलाई उपराष्ट्रपतिको उमेदवारको रूपमा अघि सारेको छ।

यस्तै जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। उपराष्ट्रपति निर्वाचनका चैत ३ गतेका लागि तोकिएको छ।
रामचन्द्र पौडेल बने तेस्रो राष्ट्रपति

नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। बिहीवार सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा उनी विजयी भएका हुन्।

राष्ट्रपतिको निर्वाचनका लागि नेपाली काँग्रेसले पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएका थिए।

संघीय संसदमा भएको निर्वाचनमा पौडेललाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा लगायतले मत दिएका हुन्।

राष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेलले ३३ हजार ८ सय २ मत भार प्राप्त गरेका छन्। यस्तै अर्का उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मत भार प्राप्त गरे। निर्वाचन अधिकृत महेशका अनुसार निर्वाचनमा कूल ४९ हजार ५ सय ९१ सांसदहरूको मत भार रहेको थियो।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्दछन्। बिहीवारको निर्वाचनमा कुल ८३९ -३९३ संघीय सांसद र ५९८ प्रदेशसभा सदस्यले मतदान गरेको अधिकारीहरूले बताएका छन्। रामवरण यादव पहिलो राष्ट्रपति हुन् भने विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति हुन्। उनी दुई कार्यकाल राष्ट्रपति बनिन्।
सोमपालले क्यानडामा हुने टि-२० लिग खेल्ने

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपा कामीले क्यानडामा हुने घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

तीव्र गतिका बलर सोमपालले क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता फ्लावर सीटी टि-२० लिग खेल्ने भएका हुन्। उक्त प्रतियोगिता जुन महिनामा हुने छ र सोमपालले उक्त लिगमा ओटावा फाल्कोनबाट खेल्ने छन्।

युवा स्की टोली कोरिया प्रस्थान

दक्षिण कोरियामा आयोजना हुने युथ स्की ट्रेनिङ एन्ड कम्पिटिसनमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली त्यस तर्फ प्रस्थान गरेको छ।

प्रशिक्षक शाहराम श्रेष्ठको नेतृत्वमा खेलाडी नर्बु शेर्पा, नवीन लामा, छोवाङ् तामाङ र सोयबमान श्रेष्ठ सम्मिलित टोली कोरिया गएको हो। एसियामा शीतकालीन खेललाई अझ लोकप्रिय बनाउन र विस्तार गर्ने उद्देश्यका साथ यस प्रकारको प्रशिक्षण र प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक श्रेष्ठले बताए।

उक्त टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की सङ्घका अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बिदाइ गरे।
एक सिङे गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा फेरी गैँडा मृत फेला परेको छ। बुधबार त्यहाँ एक सिङे गैँडा मृत अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन्।

उक्त गैँडा निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोस्ट नजिक भेटिएको हो। अन्दाजी २० वर्षको उक्त भाले गैँडाको खाग सुर सुरक्षित रहेको बताइएको छ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट साढे २ महिना पछि पुन अन्तराष्ट्रिय उडान सुरु

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले पुन उडान सुरु गरेको छ। बिहीवार कुवेतबाट जजिराको विमान उक्त विमान गौतम बुद्ध विमानस्थलबाट यात्रु लिएर उडेको हो।

उक्त एयरलाइन्सले मङ्गलवार, बिहीवार र शनिवार गरी हप्तामा तीन दिन उडान भर्ने विमानस्थलका अधिकारीहरूले बताएका छन्।

गत डिसेम्बर देखि जजिराले उडान रोकेको थियो। उसले मौसमको कारण उडान गर्न नसक्ने बताएको थियो। गौतम बुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय विमान उड्न नसकेको विषयले केही महिना नेपाली संचार क्षेत्रमा निकै चर्चा पाउँदै आएको थियो।

उक्त विषय प्रतिनिधिसभामा समेत उठेको थियो। घरेलु वायुसेवा नेपाल एयरलाइन्सले पनि उक्त विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्नुपर्ने माग समेत उठेका छन्।

त्रिभुवन विमानस्थलको विकल्पको रूपमा निर्माण गरिएको उक्त विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सक्ने क्षमता रहेको बताइएको छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand