हामी दुई श्रीमती, हाम्रा दुई सन्तान, अस्ट्रेलिया बस्ने एक नेपाली युवतीको प्रेरणादायी कथा

Srijana Rai

The couple say respecting each other is the key to a healthy and happy relationship. Source: Srijana Rai

समलिङ्गी सम्बन्धलाई अझै पनि स्विकार्न अनकनाउने नेपाली समाजमा समलैङ्गिक वैवाहिक सम्बन्धका साथ जीवन यापन गरिरहेकी सृजना राईले आफ्नो पारिवारिक जीवन र भोगाइ बारे एसबीएस नेपालीसँग कुरा गरेकी छिन्।


टिकटकमा 'राईमामो फ्यामिली' नामको अकाउन्टबाट पोस्ट हुने भिडियोहरूमा सामान्यतया देखिने नेपालीको भन्दा फरक वैवाहिक जीवन देख्न सकिन्छ।

समाजमा समलिङ्गी हो भनेर कतिपयले खुलेर भन्न सक्ने अवस्था नभएकै समयमा मेलबर्न निवासी सृजना राईले भने समलैङ्गिक विवाह मात्र गरेकी छैनन् दुई सन्तानकी आमा भएर मातृ वात्सल्यको सुख भोग पनि गरिरहेकी छिन्।

ट्रेसी मामोसँग सन् २०११ मा भएको भेट वैवाहिक सम्बन्धमा परिणत भएपछि परिवार बढाउने उनीहरूको सपना, छोराको जन्म पछि केही हदसम्म पुरा भयो।

दुई वर्षीय छोरा र भर्खर जन्मिएकी छोरीका साथ अब भने आफ्नो परिवार पूर्ण भएको बताउँछिन् राई।

सामाजिक सञ्जाल टिकटकमा समलैङ्गिक सम्बन्ध र आफ्नो जीवन यात्राबारे उनले आफूलाई प्राप्त हुने जिज्ञासाको उत्तर दिने गर्छिन्।

आफू समलिङ्गी भएको खुलेर परिवारमा भन्न नसक्नेहरूका लागी सुझाव पनि दिने गरेकी बताउँछिन् सृजना राई।
Srijana Rai
Source: Srijana Rai
सुरुवातमा आफ्नो चाहानालाई लिएर खुल्न राईलाई पनि त्यति सहज भने थिएन।

स्कुल पढ्दादेखि नै केटीहरू प्रति नै आकर्षित हुने र केटासँग प्रेम गर्न रहर नलाग्दा चाहिँ आफ्ना साथीहरू भन्दा फरक भएको जस्तो भान हुने पनि उनको भनाई छ।

तर कलिलो उमेरका कारण त्यसो भएको होला भनेर आफूले खासै वास्ता नगरेको राईले एसबीएस नेपालीलाई बताइन्।

साथै परिवारले पनि केटीहरूसँग मात्र घुलमिल हुँदा “छोरी सोझी छे” भनेर सोच्ने गरेको कुरा पनि उनले फुकाइन्।

“घरमा पनि साथीहरू ल्याउँदा खाली केटी साथीहरू मात्र ल्याउँथे, त्यो गर्दा बाबा ममी पनि खुसी हुन्थे,” उनले भनिन्।
“यसले चाहिँ बोइफ्रेन्ड बनाएको छैन यो मेरो ज्ञानी छोरी भन्ने, त्यस्तो सोच्नु हुन्थ्यो।”
आफूले नर्सिङ पढ्न थाले पछि कलेजमा केटीहरू मात्र हुनाले केटीहरू प्रतिको आकर्षण झन् प्रस्ट भएको पनि सृजना राईको भनाई छ।

तर पनि परिवारलाई यसबारे भन्न आफूले केही बताउन नसकेको उनले बताईन्।

हाल वैवाहिक जीवनमा बाँधिएकी मामोलाई आफूहरूको भेट भएको केही वर्षपछि राईले नेपाल घुमाउन लागेकी थिइन्।

उनी भन्छिन् कि त्यो बेला मामो र आफ्नो आमा राम्रैसँग घुलमिल भएकी थिए।

आमाले पनि ट्रेसी मामोलाई मन पराएको सृजना राईले पाइन्।

नेपालमै हुँदा आफूहरूको सम्बन्धबारे बताउन नसके पनि अस्ट्रेलिया फर्किए पछि भने आमालाई फोनमा मामो आफ्नो साथी नभएर प्रेमीका भएको जानकारी दिएको सुनाउँछिन् उनी।

श्रीमती-श्रीमतीको भेट

सन् २००९ मा अस्ट्रेलिया आए पछि भने सृजना राईलाई आफ्ना चाहना अनुरूप जीवनयापन गर्न सहज भयो।

मामोलाई एक डेटिङ एप मार्फत भेटेको बताउँछिन् राई।

“विद्यार्थी जीवनमा जुन बेला जागिर हुँदैन, पैसा हुँदैन त्यो बेला एपमा जोडिन पनि ३० डलर तिर्नु पर्थ्यो,” आफूहरूको भेट बारे स्मरण गर्दै उनले एसबीएस नेपालीसँग भनिन्।

उनी भन्छिन् कि जसोतसो पैसा तिरेर एप सब्स्क्राइब गरेपछि ट्रेसी मामो पहिलो नजरमा मन परिन्।

बिस्तारै एप हुँदै फेसबुक र भेटसम्ममा पुग्दा दुवै नछुट्टिने गरी प्रेम सम्बन्धमा बाँधिएको सृजना राई सुनाउँछिन्।

विवाह पछि दुई मध्ये श्रीमान् को हो भनेर कसैले सोध्दा अपमानित महसुस हुने भन्दै यी जोडीले एक भिडियो बनाएका छन्।

दुई आमा अनि मातृत्व

पहिलो पटक आफ्नो आमालाई ट्रेसी मामो र आफ्नो सम्बन्धबारे बताउँदा, आमाको पहिलो प्रश्न नै “अनि तिमीहरूको बच्चा कसरी हुन्छ त?” भन्ने थियो भन्छिन् राई।
"तिमीहरू केटी केटी बसेर कसरी बच्चा पाउँछौ त? कसले हेर्छ तिमीहरूलाई बुढेसकालमा?"
यो प्रश्नमा उनले नयाँ प्रविधिका कारण बच्चा पाउन सम्भव भएको बताए पछि आमाले आफूहरूको सम्बन्ध स्वीकारेको पनि उनको भनाइ छ।

"त्यो सबैभन्दा ठुलो राहत थियो, मेरो लागी।"

तर, केटी केटीको सम्बन्धमा पनि बच्चा पाउन सम्भव भएको आमालाई बुझाउनमा उनकी दिदीको पनि भूमिका रहेको छ।

दुई दिदी, एक दाइ र एक भाइको साथमा हुर्किएकी सृजना आफैलाई पनि २५ वर्ष भित्रमा केटीसँग कै सम्बन्धमा पनि बच्चा चाहिँ पाउँछु भन्ने सोच थियो।

मामोसँग यसबारे कुरा गर्दा उनको पनि परिवार बढाउनु प्राथमिकतामा रहेको राईले पाएकी थिइन्।

दुई वर्ष अगाडी आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन) मार्फत छोरा एरिकलाई मामोले जन्म दिएकी थिइन।
तर उक्त प्रक्रियालाई लिएर धेरैको जिज्ञासा आउने गरेकाले टिक टकमा पनि यो प्रक्रियालाई प्रस्ट्याउन ट्रेसी र सृजनाले धेरै भिडियो बनाएका छन्।

उनका अनुसार पहिलो सन्तानका लागी आफ्नो अण्डाशयबाट निकालिएको परिपक्व अण्डा र दाताको शुक्राणुलाई मिलाएर बनेको भ्रूणलाई ट्रेसीको गर्भमा राखिएको थियो।

र सोही दाताको शुक्राणु दोस्रो पटक भने ट्रेसीको अण्डासँग मिलाएर सृजनाको गर्भमा राखिएको हो।

यसरी दुवै बच्चाको जन्ममा एउटै जैविक शुक्राणु (बायोलोजिकल स्पर्म ), एक आमाको वंशाणुगत गुण (अण्डा) र अर्की आमाको गर्भ रहेको छ।

यसरी दुवै आमाले आफूहरूको बच्चाको चाहनालाई प्रविधिको विकासका कारण सम्भव बनाउन सफल भए।

आफूले नेपाली समलिङ्गी जोडीले बच्चा पाएको थाहा नपाएको बताउने सृजना आफूले चिनेका कति समलिङ्गी नेपाली महिलाहरू यसबारे खुल्न नै डराउने गरेको बताउँछिन्।

"तपाई जति नै राम्रो भए पनि कसै न कसैले मन नपराउने हुन्छ, त्यसैले तपाई यदि समलिङ्गी सम्बन्धमा हुनुहुन्छ भने तपाइले आफ्नो खुसी, आफ्नो सफलताको बारेमा सोच्नु पर्‍यो, अरूले के भन्छ भनेर होइन।"

समलिङ्गी सम्बन्धका बारेमा नेपालीहरूको सोचाइ उनले फरक फरक पाएकी छन्।

नेपालमा नै बस्नेहरूबाट यसबारे आश्चर्य व्यक्त हुने गरेको भए पनि अस्ट्रेलियामा बस्ने नेपालीहरूले निकै सामान्य रूपले हेर्ने गरेको हुनको भनाइ छ।

अरूको खुसीको लागी आफ्नो चाहनालाई पूर्णतया दबाएर दुखी जीवन बिताउन नहुने भन्दै उनले आफ्नो कथा सुनाएर कसैलाई हौसला मिल्छ कि भनेर समलिङ्गी सम्बन्धबारे बुझाउन पनि टिकटक बनाउन सुरु गरेको उनले बताएकी छन्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand